हिमपात : यातायात र हवाई उडान ठप्प
खलङ्गा, २७ मङ्सिर : जुम्लामा बिहानैदेखि भारी हिमपात भएपछि यहाँको जनजीवन कष्टकर भएको छ । जुम्लाबाट चल्ने लामा तथा छोटो दूरीका यातायात साधन र हवाई मार्ग ठप्प हुँदा तराई जाने यात्रुलाई सास्ती भएको कर्णाली यातायात समितिका अध्यक्ष मीनबहादुर थापाले जनाकारी दिनुभयो ।
मङ्सिर महिनाको अन्तिम साता परेको हिउँले यहाँका किसानले लगाएका गहुँ, जौ र हिउँदे बालीलाई फाइदा हुने तिला गाउँपालिका–१ का किसान सुन्दरी पाण्डे रावतले बताउनुभयो । जुम्लामा पानी नपर्दा किसानले लगाएको बालीनालीलाई पानीको समस्याले राम्रोसँग हुर्काउन नसकेका बेला सही समयमा हिउँ परेको छ । हिउँबाट निस्केको पानीले बालिनालीलाई मात्र नभई स्याउका बिरुवालाई पनि राम्रोसँग फाइदा हुने किसान रतिमान बुढाले बताउनुभयो ।
हिउँ परेकाले यहाँका अग्ला हिमालमा नचढ्न र सानासाना बालबालिकालाई हिउँमा राखेर नखेल्न प्रशासनले अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जनकारी दिनुभयो । जुम्लामा बिहानदेखि अहिलेसम्म करीब दुई फिटभन्दा बढी हिउँ परेको जनाइएको छ । हिउँ अझै बाक्लो पर्ने सम्भावना भएकाले आफ्ना बालबालिकालाई घरभित्रै राखेर न्यानो बनाउन सुझाव दिइएको छ । (रासस)