कांग्रेसको महाधिवेशन २०७७ साल फागुन ७ देखि १० सम्म हुने


काठमाडौं, पुस ११ :  नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति तोकेको छ। 

संस्थापन इतर समूहको बहिष्कारकाबीच शुक्रबार साँझ पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकले  वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप गर्दै १४ ‌औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो।

वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल आउँदो फागुन १९ मा सकिँदै थियो। 

यस्तै, बैठकले भ्रातृ संगठन नेपाल तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले बताए। तरुण दलको म्याद गत कात्तिकमै सकिएको थियो। ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तरुण दलको म्याद थप गरिएको बैठकमा सहभागी उनले बताए।

बैठकले पार्टीकाे कार्यकाल एक वर्ष थप गर्ने निर्णय पनि गरेकाे छ। प्रवक्ता शर्माका अनुसार केन्द्रीय समिति बैठकमा २८ बाट बढाएर ४७ विभाग गठन गर्ने सभापति शेरबहादुर देउवाले प्रस्ताव पनि पारित भएको छ। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर नेताहरु भने सहभागी थिएनन्। 

सभापति देउवाले सहमतिका लागि विगत १५ दिनदेखि बैठक स्थगित गर्दै आएका थिए। तर पौडेल पक्षीय नेताहरुले सहमति गर्ने कुनै छाट नदेखिएपछि बैठकले बहुमतका आधारमा निर्णय गरेको हो। 

‘सहमतिका लागि पटक-पटक बैठक स्थगित गरिएको थियो, तर सहमति गर्ने तर्फभन्दा पनि लिगरिङ गराउनेतर्फ नेताहरु देखिएकाले विधान अनुसार बहुमतका आधारमा बैठकले निर्णय गरेको हो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने।

पौडेल समूहले अर्को वर्ष मंसिरभित्रै महाधिवेशन गर्ने गरी निर्वाचनको कार्यतालिका ल्याउनु पर्ने, नेविसंघ, तरुण दल, पार्टीका विभाग लगायतका विषयमा प्याकेजमै टुंगो लगाउनु पर्ने भन्दै बैठक बहिष्कार गर्दै आएको थियो।

पटक-पटक संस्थापन पक्ष र पौडेल पक्षबीच वार्ता भएपनि सहमति जुट्न सकेको थिएन। 

काठमान्डौ प्रेस