नेपालमा मानव बेचबिखन जटिल बन्दै
नेपालगञ्ज, १८ पुस : नेपाली सभ्य समाजका लागि मानव बेचबिखन एउटा कलङ्क र अभिशाप बन्दै गएको छ । नेपाली समाजमा मानव बेचबिखन घट्नुका साटो पछिल्लो समय बढ्दै गएपछि सामाजिक व्यवस्थामाथि नै प्रश्न चिह्न खडा भएको छ भने सरोकारवाला निकायलाई यसले ठूलो चुनौती थपिदिएको छ ।
नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा गत एक वर्षको अवधिमा ८६९ महिला हराएको भन्दै खोजीका लागि निवेदन पर्नुले मानव बेचबिखन अब सतही विषय नभएको प्रष्ट भएको छ । बेचिएको तुलनामा उद्धारको प्रतिशत अत्यन्तै न्यून हुनु यसको अर्को दुःखद् पक्ष हो । माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार, उक्त अवधिमा हराएकामध्ये अहिलेसम्म २९७ जना मात्र फेला परेको छन् । त्यस अवधिमा बाँकेको नेपाल–भारत सीमानाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ८९६ जनालाई परामर्श दिएर घर फर्काइएको थियो भने भारतमा यौन शोषणमा परेका सात जनाको माइती नेपाल उद्धार गरेको थियो ।
पछिल्लो समय मानव बेचबिखनको समस्याले विश्वलाई नै गाँजेको छ । नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । पछौटेपन र गरिबीलाई मानव बेचबिखनको मुख्य कारण मानिन्छ । नेपालले पनि यही नियति भोग्दै आएको छ । नेपालमा विशेषतः काम पाउने लोभमा बालबालिका र महिला बेचिने गरेका छन् ।
नेपाल सरकारले भारतको बाटो भएर तेस्रो मुलुकमा रोजगारीका लागि जान रोक लगाएको छ तर, मानव दलालले भने विभिन्न जिल्लाका महिला तथा किशोर अवस्थाका बालबालिकालाई रोजगारीको प्रलोभनमा पारी भारत लैजाने गरेको मानव बेचबिखनविरुद्ध काम गदै आएका सङ्घसंस्थाले बताउँदै आएका छन् । माइती नेपालको तथ्याङ्कअनुसार प्रत्येक वर्ष १० हजार नेपाली महिला भारत र खाडीमुलुकमा बेचिने गरेका छन् ।
नेपालका अन्य सीमावर्ती नाकाजस्तै बाँकेको सीमानाका जमुनहा हुँदै पनि प्रत्येक वर्ष नेपाली महिला र बालबालिकालाई भारत र तेस्रो मुलुकमा लगेर बिक्री गर्ने गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले केही दिनअघि मात्रै भारतमा बेच्न लिएर लाँदै गरेको अवस्थामा उक्त नाकाबाट ४५ महिलाको उद्धार गरेको थियो ।
मानव तस्करले नयाँ तरिका अपनाउँदै भारतको विभिन्न स्थानमा पठाउने तयारी गरिरहेको अवस्थामा ती महिलाको उद्धार गरिएको थियो । सो घटनामा दुई जना दलाललाई पक्राउ गर्न सफल भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताउनुभयो । अर्कोतर्पm तेस्रो मुलुकमा बेचिएका नेपाली महिला तथा बालबालिकाको खोजीका लागि सरकारी संयन्त्र नहुँदा उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन । सचेतनाको कमी, गरिबी, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोगजस्ता विभिन्न कारणले मानव बेचबिखन बढ्दै गएको माइती नेपालका क्षेत्रीय संयोजक कोइरालाको ठम्याइ छ ।
सन् २०१९ को एक वर्षे अवधिमा दिल्ली पु¥याएर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्धार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा माइती नेपालले गरेको थियो । त्यसअघि पनि तीन जना महिलाको उद्धार दिल्लीबाटै भएको थियो ।
संयोजक कोइरालाका अनुसार, भारत र खाडीमुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौनशोषण भएको पाइएको छ । “बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरूपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरिबी नै हो भन्न सकिन्छ”, संयोजक कोइरालाको भनाइ छ ।
कामको प्रलोभनमा अवैधरूपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडीमुलुक र केही भारतमा हराएको माइती नेपालको तथ्याङ्कमा उल्लेख छ । कोइरालाका अनुसार, विगत वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार सङ्ख्यासमेत बढेको छ । राम्रो तथा सुरक्षित काम दिलाइदिने प्रलोभनमा पारेर महिलालाई अवैरूपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेका छन् । महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उहाँको भनाइ छ ।
अर्कोतर्फ, मानव बेचबिखन समुदायस्तरबाटै रोकथाम गर्ने उद्देश्यका साथ विद्यार्थी, युवा र अभिभावकसमेतको समूह गठन गरी तालीम दिएर उनीहरुमार्फत विभिन्न स्थानमा अभिमुखीकरण तथा जनचेतनामूलक अभियानसमेत माइती नेपालले सञ्चालन गर्दै आएको छ । यसका साथै, जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई उद्धार गरी आवश्यक परामर्श दिने, बेचबिखनमा परेकाको पुनःस्थापना, विभिन्न हिंसामा परेका महिला तथा बालबालिको उद्धार, पुनःस्थापन र पैरवीसमेत हुँदै आएको छ ।
बाँकेको सीमानाका हुँदै रोजगारीका लागि अवैधरूपमा भारत र खाडीमुलुक गएर हराएका प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिनहुँजसो निवेदन दिनुलाई मानव बेचबिखन नेपाली समाजका लागि दिन प्रतिदिन जटिल बन्दै गएको छ भन्दा अतिशयोक्ति नहोला । – नीरज गौतम (रासस)