ऊ मेरो साथी हो !

हरि जिरेल

ऊ मेरो साथी हो !
मैले उसलाई धेरै सहयोग गरे
उसको प्रगतिको लागि जेल पनि बसेँ
नेल पनि लगाएँ,
वर्षेनी कठ्घरामा पनि उभिएँ,
एउटा रानी माहुरी हुर्काए झै पोषणजति उसैलाई दिए ,
प्राप्त अवसर सबै उसैकोनिमित्त भन्थे !
ऊ खाने कुरा देख्यो कि ! आफुतिर भाग तानी हाल्थ्यो !
त्यो उसको स्वभाव हो भन्ने ठानेर
म पनि चुपचाप बस्थेँ !
एक पटक खानामा केही मिसिएको जस्तो देखेर उसलाई त्यो विष झैँ लाग्यो


पहिले मलाई खान अनुरोध गर्यो
साथीको हितको खातिर जे नि गर्न तयार म
उसको आदेश नामन्जुर गरिन
जब त्यो खानेकुरा विष नभएको पक्का भयो

तब,
उसले बबन्डर सुरु गरी हाल्यो !
प्रश्न एउटै थियो , मैलेभन्दा अघि किन खाइस ?
सबै जना छक्क पर्यौ ।
उसको द्वैध र संदिग्ध चरित्र देखेर
मैले सबैलाई सम्झाए
उसको बानी यस्तै हो , छोडी दिउ
अरुले त्यो कुरा पचाएनन ,
तै पनि ऊ मेरो साथी हो !
मैले खल्लो मानिन।
आजभोलि अरु छिमेकीले नि मेरो साथी को बानी थाहा पाउन थालेका छन्
अरुले राम्रो श्रीमती ल्याएको देख्न नसक्ने ,
अरुले राम्रो जागिर पाएको उसलाई निको नलाग्ने ,
अरुले घर बनाएको जग्गा किनेको, राम्रो खसी पालेको, अरुको भैसी ब्याएको उस्लाई पट्टक्कै मन नपर्ने ।

यतिसम्म कि उसलाई श्रीमतीले राम्रो साडी लाएको र छोराले राम्रो बुहारी ल्याएको समेत मन पर्दैन,

आफु ६० कटे पनि १६ वर्ष कि नव यौवनाले
छोरालाई हैन मलाई हेरोस भन्छ ,
उसले ईष्र्या र लोभ नगर्ने ठाँउ नै कहिँ छैन ,
तैपनि ऊ मेरो साथी हो , उसको छोरोलाई बाउको बानी के थाहा ?
बाउको बानी देखेर छोरो रन्किदा
छोरोलाई सम्झाउने गर्छु
बाबु तिम्रो बाउको बानी नै त्यस्तै हो , रिसाउनु हुँदैन भन्छु ,
किनकी ऊ मेरो साथी हो ।
यद्यपि म अझै उसकै विश्वास गर्छु,
उसकै भरोसा गर्छु ,
कारण ,


ऊ मेरो अनन्य मित्र हो ।