वर्षातले किसान खुशी, बिरामी चिन्तित

महोत्तरी, २३ पुस : पछिल्लो तीन साताभित्र दुईपटक परेको वर्षात्ले यहाँ खुशी र चिन्ता दुवै छाएको छ । गत शुक्रबार र शनिबार हल्का वर्षात् हुँदा किसान औधि खुशी भएका छन् । गतमङ्सिर महिनामा माटो गल्नेगरि जिल्लाभर पानी परेको थियो ।

वर्षाले जाडो बढाउँदा श्वासप्रश्वासका बिरामीलाई थप अप्ठ्यारोमा परेका छन् । गरीब बस्तीका वृद्धवृद्धा, स–साना नानी र नवजात शिशुकी आमा वर्षापछिको जाडोले स्वास्थ्य समस्यामा परेका छन् । पछिल्लो वर्षाले जिल्लाका ग्रामीण सडक हिलाम्य भएका छन् । हिँडडुलमा पनि समस्या आएको छ ।

“बर्षाले जाडो त बढायो, तर गहुँका लागि त अमृत नै बर्र्सेेजस्तो भयो”, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका गहुँखेतीमा कहलिएका किसान सत्यनारायण यादवले भन्नुभयो, “हेर्नोस् वर्षाको पानीमा त के जादु हुन्छ को नि ! दुई दिनमै गहुँ लहलहाएको छ ।” सन्तुलित वर्षाको पानी गहुँका लागि कुलोबाट गरिएको सिँचाइभन्दा निकै पोषिलो हुने बताइएको छ ।

पछिल्लो वर्षाले आलु र गोलभेँडा लगायत हिँउदे तरकारीलाई फाइदा पु¥याएको छ । आँप, लिची र कटहर सहितका फलका रुखमा नयाँ पात फेर्न र फुल्न वर्षालेको पनीले सहयोग पु¥याएको छ । बर्दिवास नगरपालिका–९ पशुपतिनगरका फलफूल किसान सुरजसिंह कुशवाहाले भन्नुभयो, “सन्तुलित हिउँदे वर्षा भएको साल फलफूल राम्रो उत्पादन हुने गरेको छ ।” पशुपालक किसान पनि वर्षाले चरनक्षेत्रमा घाँस राम्रो उम्रने र बढ्ने आसले उत्साहित देखिएका छन् ।

मुख्य सडक हिलाम्य भएका छन् । बर्दिवास–जलेश्वर सडक पुनःनिर्माणको काममा ढिलाइ हुँदा पछिल्लो वर्षाले सवारी साधन चलाउन नसकिने भएको छ । (रासस)