चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले २० करोड घुस मागे : दुर्गा प्रसाईं


काठमाडौं, पुस २३ : झापास्थित बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएका छन्।

बुधबार पत्रकार सम्मेलन गरेर कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन आयोग उपाध्यक्ष गिरीले घुस मागेको उनको आरोप छ। द्वारिका होटलमा बोलाएर २० करोड मागेको उनको भनाइ छ।

प्रसाईले बिएन्डसी कलेजलाई सम्बन्धन माग्दै मंसिर १५ गते चिकित्सा शिक्षा आयोगमा निवेदन दिएका थिए।

बिहान ११ बजे आयोगमा पुगेको जनाउँदै उपाध्यक्ष गिरीले साँझ द्वारिका होटलमा बोलाएको उनले बताए। ‘२०–२० करोड मागेपछि मैले दिन सक्दिनँ भनेको हुँ,’ द्वारिका होटलमा भएको कुराकानी’bout बताउँदै उनले भने, ‘२०–५० लाख, एक करोडसम्म त ठिकै थियो।’

आफूले २० करोड दिन नसक्ने बताएपछि उपाध्यक्ष गिरीले सम्बन्धनको निवेदन दर्ता गर्न नमानेको प्रसाईको भनाइ छ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले भने घुस नमागेको दाबी गरेका छन्। ठाडो निवेदन आएकाले प्रक्रिया पुर्‍याएर ल्याउन भन्दै दर्ता नगरेको उपाध्यक्ष गिरीको भनाइ छ। काठमाडौँप्रेस