प्रदेश ३ को नाम ‘वाग्मती’ राजधानी ‘हेटौँडा’ नै कायम गरिने
हेटौँडा, २३ पुस : प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पास गराउने निर्णय भएको नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।
उहाँले विगतमा प्रदेशसभा सदस्यहरुले आ–आफ्नो हिसाबले मन्तव्य र विचार व्यक्त गरेको भए पनि एक भएर राजधानी र नामकरण टुङ्ग्याउने सहमति भएको बताउनुभयो । दलको निर्णयअनुसार नै मतदान हुने हुँदा ‘ह्वीप’ वा दण्डको डर वा त्रास देखाउने अवस्था नरहेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री डोरमणि पौडेलले संसद्मा एउटा मात्र प्रस्ताव लैजाने सहमति भएको जानकारी दिनुभयो । ‘‘दलको बैठकमा प्रदेशसभा सदस्यको धारणा सुनेपछि संसद्मा राजधानी हेटौँडा र नाम वाग्मती मात्र प्रस्ताव पेश गर्ने निर्णय सर्वसम्मत भएको छ’’, मुख्यमन्त्री पौडेलले भन्नुभयो ।
राजधानी र नाममा एउटा–एउटा मात्र प्रस्ताव पेश गर्न राखिएको प्रस्ताव सर्वसम्मतरूपमा पास भएको उहाँले बताउनुभयो । यही पुस २७ गते प्रदेश नं ३ ले स्थायी राजधानी मकवानपुरको हेटौँडा र नाम वाग्मती पाउने पौडेलको भनाइ छ ।
विकासलाई विस्तार गर्नुपर्छ भन्ने अवधारणाका साथ र दीर्घकालीन सोचका साथ हेटौँडालाई नै राजधानी र नाम वाग्मती राख्ने निर्णय भएको नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले जानकारी दिनुभयो । हेटौँडालाई राजधानी बनाउँदा समृद्ध नेपाल बनाउने अभियानमा धेरै हिसाबले बल पुग्ने र थुप्रै रणनीतिक कारण पनि हेटौँडा उपयुक्त हुने उहाँको भनाइ थियो ।
“नेकपाको संसदीय दलले एक ढिक्का र एकमतका साथ जाने निर्णय गरेको छ”, उहाँले भन्नुभयो । ह्वीप नलगाउँदा ‘फ्लोरक्रस’ हुन्छ कि ? भन्ने प्रश्नमा अध्यक्ष दाहालले कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको कारण पार्टीको निर्णय नमान्ने भन्ने कुरा नहुने बताउनुभयो । प्रदेशसभामा नेकपाका ८०, नेपाली काँग्रसका २२, विवेकशील नेपालीका तीन, राप्रपाका एक, राप्रपा (संयुक्त)का एक र नयाँ शक्तिका एक सदस्य छन् ।(रासस)