राजश्व छली गरी ल्याइएका ३० थान मोबाइल बरामद

राजस्व छली गरी ल्याएर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बसपार्क आसपासका मोबाइल पसलहरुबाट बिक्रीवितरण गर्दै आएका मोबाइल सेट बरामत गरी बुधबार सार्वजनिक गर्दै इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिना । तस्वीर : पेमा लामा (रासस)

बनेपा, १ माघ : इलाका प्रहरी कार्यालय बनेपाको टोलीले भन्सार छली गरेर ल्याई बेचबिखन गर्दै आएका छुट्टाछुट्टै मोबाइल पसलबाट ३० थान मोबाइल बरामद गरिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले आज पत्रकार सम्मेलन गरी बरामद गरिएका मोबाइल सेट सार्वजनिक गर्नुभएको हो ।

उहाँका अनुसार बनेपा नगरपालिका– ८ बसपार्कमा रहेको पसल दर्ता नै नगरी सुनिल खनालले सञ्चालन गर्दै आएको मोबाइल पसलबाट विभिन्न कम्पनीको २१ थान र वडा नं ८ चाँदनीचोकस्थित चाँदनी कम्प्लेक्सभित्र सुदीप दाहालले सञ्चालन गर्दै आएको एमआइजी मोबाइल सेन्टरबाट नौ थान गरी ३० थान मोबाइल बरामद गरिएको हो । बरामद गरिएका मोबाइल कम्पनीको बजार मूल्यअुनसार रु १७ हजार ६०० देखि रु एक लाख ६० हजारसम्मका छन् ।

बरामद गरिएका रु १० लाख १७ हजार ५०० बराबरका मोबाइल राजश्व कार्यालय हरिहरभवन पुल्चोकमा थप अनुसन्धानका लागि पठाइने प्रहरीले जनाएको छ । पसलेले भन्सार छली गरेर ल्याएका मोबाइल काठमाडौँबाट ल्याई बेच्ने गरेका पाइएको प्रहरीको भनाइ छ । ती पसल सञ्चालकलाई राजश्व छलीअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । (रासस)