गायिका आस्था राउतविरुद्ध मुद्दा दर्ता, पक्राउको तयारी


काठमाडौं, माघ ५ : गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले उजुरी दर्ता गरि कारबाही प्रक्रिया अघि बढाएको छ।

प्रहरी जवान रमिसा श्रेष्ठले आस्थाविरुद्ध आइतबार उजुरी दिएकी हुन्। उनको उजुरी दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान सुरू गरेको उनले बताए। अनुसन्धानका लागि उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिने तयारी भइरहेको एसएपसी सुवेदीले बताए।

गायिका आस्थाविरुट प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनलाई आधार बनाइएको छ। सीसीटिभी फुटेज र आस्थाले बोलेको भिडियोलाई पनि प्रारम्भिक प्रतिवेदनमा राखिएको जनाएको छ।

अभद्र व्यवहारसम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्छन्। त्यससम्बन्धी अनुसन्धानका लागि आरोपित व्यक्तिलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्छ। प्रहरीले पक्राउका लागि अनुमति लिने तयारी गरेको जनाएको छ।

बुधबार भारत जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान श्रेष्ठ र गायिका आस्थाबीच बोलाबोल भएको थियो। आस्थाले आफूमाथि दुव्र्यवहार गरेको भन्दै फेसबुक लाइभमा गुनासो गरेकी थिइन्। उनले प्रहरीलाई अपशब्द पनि बोलेकी थिइन्।

प्रहरी जवान श्रेष्ठले आफूमाथि दुव्र्यवहार गरेको आरोपमा उजुरी दिएकी छन्। प्रहरीले प्रहरी जवान श्रेष्ठको उजुरीलाई आधार बनाएर कारबाही प्रक्रिया अघि बढाएको छ।

विवाद बाहिर आएपछि प्रहरीले त्रिभुवन विमानस्थलको सीसीटीभी फुटेज पनि बाहिर ल्याएकाे थियो। त्यसमा गायिका आस्था र प्रहरी जवान श्रेष्ठबीच विवाद भएको देखिएको छ।

गायिका आस्था हातमा कफि बोकेर भित्र प्रवेश गर्न खोज्छिन्। त्यतिवेला प्रहरी जवान श्रेष्ठ जकेट पनि खोलेर स्क्यानरमा राख्न लगाउँछिन्। उनको हातको कफि खोसेर टेबुलमा राख्छिन्।

गायिका आस्था जकेट स्केनरमा राखेर आउँछिन्। आएपछि प्रहरी जवानले उनको शरीर जाँच गर्छिन्।

त्यसपछि गायिका आस्था जकेट र झोला बोकेर हिड्न खोज्छिन्। तर, प्रहरी जवान श्रेष्ठ उनको हात समातेर कफि लग्न बल गर्छिन्। आस्थाले कफि लग्न इन्कार गरेको सीसीटीभी फुटेजमा देखिएको छ। त्यतिवेला प्रहरी जवान श्रेष्ठ कफि झोलामा खन्याउन खोज्छिन्।

त्यसमा केहीवेर विवाद हुन्छ। गायिका आस्था कफि त्यही छोडेर निस्किन्छिन्।

तर, प्रहरीले यसैलाई प्रहरी जवानमाथि दुव्र्यवहार भनेको छ। गायिका आस्थाले पनि प्रहरी जवानले आफूमाथि दुव्र्यवहार गरेको बताएकी छन्।

यतिवेला गायिका आस्था सांगीतिक कार्यक्रमका लागि भारतमा छिन्। त्यसबेला आक्रोसमा बोलेको भन्दै माफी पनि मागीसकेकी छन्। तर, यता प्रहरीले भने उल्टै प्रहरी जवानमाथि दुव्र्यवहार गरेको भन्दै उजुरी दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको छ। काठमाडौँप्रेस