अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय

काठमाडौं,  माघ ५ : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

आइतबार अपरान्ह बसेको सचिवालयले बैठकले सभामुखमा सापकोटालाई अघि सार्ने निर्णय गरेको हो। यसअघि बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सभामुखमा सापकोटालाई उम्मेदवार बनाउने विषयमा समझदारी भएको थियो।

दुई अध्यक्षको सहमतिलाई सचिवालय बैठकले अनुमोदन गरेको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए। गत असोजमा तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा थुनामा परेपछि सभामुख पद रिक्त थियो।

पुस ४ देखि सुरू भएको हिँउदे अधिवेशन नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा पटक–पटक सूचना टाँस गर्दै स्थगित हुँदै आएको छ। लामो समयको रस्साकस्सी पछि नेकपाले अन्ततः सापकोटाको नाममा सहमति जुटाएको हो।   

सापकोटाको नाममा कसरी भयो सहमति ?

तत्कालीन एमाले र माओवादीको एकता हुँदा प्रधानमन्त्री एमाले र सभामुख माओवादीले पाउने गरी सहमति बनेको थियो।

सोही सहमति अनुसार ओली प्रधानमन्त्री र महरा सभामुख बनेका थिए। तर, महराको पद गुमेपछि पूर्वएमाले समूहले पूर्वमाओवादी समूहबाट सभामुख पद हत्याउने प्रयास गर्दा उम्मेदवार चयनमा ढिलाइ भएको हो। 

‘ओलीजी सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहनुहुन्थ्यो, पूर्वमाओवादीलाई गलाउने योजना उहाँको थियो,’ प्रचण्डनिकट एक नेताले भने, ‘तर, त्यो सम्भव भएन।’ 

सभामुख पूर्वमाओवादीलाई नदिँदा सचिवालय बैठकमै अल्पमतमा पर्ने देखिएपछि ओली ब्याक भएको पूर्वमाओवादी नेताहरु बताउँछन्। ‘बामदेवजीहरुले नै प्रचण्डलाई समर्थन गर्ने अवस्था थियो,’ ती नेताले भने, ‘प्रचण्ड गतिशील नेता हुन्। ओलीजी प्रधानमन्त्री बनेको फागुनमा दुई वर्ष पुग्छ। त्यसपछि उहाँ (ओली)कै विकल्प खोजी गर्न सक्ने सम्भावनाको आँकलन गरेर नै पूर्वएमाले समूह पछि हटेको हो।’ 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक

सचिवालयमा पूर्वमाओवादीबाट सभामुख हुनुपर्छ भन्नेमा पूर्वएमालेका पनि बामदेव गौतम र माधवकुमार नेपाल पनि देखिएपछि ओली प्रचण्डको प्रस्ताव मान्न बाध्य भएका हुन्। सापकोटालाई सभामुख नबनाउन सजिलो होस् भनेर पूर्वएमाले र त्यसमा पनि प्रधानमन्त्री ओलीनिकट नेताहरुले द्वन्द्वकालीन मुद्दालाई हतियार बनाएका थिए। त्यसको आधारमा केही मानवअधिकारवादीहरुले द्वन्द्वको तुरुप पनि फालेका थिए।

तर ओलीले एकलौटी निर्णय गरेर सभामुखको उम्मेदवार बनाउन पावर शेयरिङमा प्रधानमन्त्रीको कुर्ची समेत हल्लिने अवस्था आएपछि ओली प्रचण्डको प्रस्तावविना सर्त स्वीकार गर्न बाध्य भएको नेकपाका अर्का एक नेताको दाबी छ। यसअघि ओली र प्रचण्डबीच पाँच वर्षमा आधा-आधा कार्यकाल प्रधानमन्त्रीमा पावर शेयरिङ गर्न भएको सहमति पत्र सार्वजनिक भइसकेको छ। 

ओली र प्रचण्डबीच गत शुक्रबार भएको छलफलमा सभामुख पूर्वमाओवादीबाटै हुने तर सापकोटाको नाममा सहमत हुन नसक्ने प्रधानमन्त्री ओलीको धारणा थियो। सापकोटा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा रहेको र सभामुख बनेपछि संसदबाट एमसीसी पास गर्न सकिँदैन कि भन्नेमा प्रधानमन्त्री ओली थिए।

तर, अमेरिकी दूतावासले नै एमसीसीका ’boutमा छरिएका भ्रमको खण्डन गरेपछि संसदबाट एमसीसी पास गर्न समस्या नहुने निष्कर्षमा ओली पुगेको ती नेताले बताए। 

को हुन् सापकोटा ? 

सिन्धुपाल्चोकको चौतरा–६ कुभिन्डेका सापकोटा हाल नेकपाको स्थायी समिति सदस्य हुन्। २०१४ साल फागुन २४ मा जन्मिएका सापकोटा शिक्षक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। उनले शिक्षक रहँदा सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १४ वर्षसम्म प्रध्यानाध्यापकको जिम्मेवारी सम्हालेका थिए।

अग्नी सापकाेटा

यस्तै, बाघभैरव माविमा समेत पढाएको उनका राजनीति सहयात्री तथा नेकपाका केन्द्रीय सदस्य केशव नेपालले बताए। शिक्षक रहँदै उनी नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएका थिए। २०३१–०३२ साल ताका उनी राजनीतिमा प्रवेश गरेका हुन्। २०३५ सालमा भएको नेकपा चौथो महाधिवेशनले गठन गरेको पहिलो जिल्ला कमिटी सिन्धुपाल्चोकको सचिव बनेका थिए।

२०३२ सालपछि ०३१ सालमा नेकपाको चौथो महाधिवेशन भएको थियो। नेकपा त्यो बेला दुई ध्रुवमा विभाजित बनेको थियो। एकाथरी नेकपामा मालेतिर लागेका थिए। तर, सापकोटा भने नेकपामै क्रियाशिल रहे। २०३६ सालमा उनी अखिल नेपाल शिक्षक संगठनको जिल्ला अध्यक्ष समेत भएका थिए।

०४८ सालमा शिक्षण पेशा छोडेर राजनीतिम सक्रिय बनेका थिए। सोही वर्ष उनी संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार समेत बनेका थिए। तर, पराजित भए।  उनी पटक–पटक गरी दुई वर्ष जेल बसेका छन्।- काठमाडौँ प्रेस….