प्रदेशसभा सदस्य दीपक मनाङेविरुद्ध कास्कीका (एन्फा) अध्यक्ष मिलन गुरुङले दिए प्रहरीमा जाहेरी



कास्की, ८ माघ : गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) विरुद्ध अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा जाहेरी दिनुभएको छ । आफूलाई प्रदेशसभा सदस्य गुरुङले मङ्गलबार कुटपिट गरेको भन्दै उहाँले आज जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउनुभएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जाहेरी प्राप्त भएको र हाल संसद् चलिरहेकाले अदालतसँगको परामर्शमा अन्य कानूनी प्रक्रिया अघि बढाइने बताउनुभयो । त्यसअघि अध्यक्ष गुरुङले घटना’bout पत्रकार सम्मेलन आयोजना गरी प्रदेशसभा सदस्य गुरुङबाट मङ्गलबार मुख्यमन्त्री कप प्रदेशस्तरीय फुटबल प्रतियोगिता उद्घाटनका बेलामा आफूमाथि योजनाबद्धरूपमा हातपात भएकाले ज्यानको सुरक्षाका लागि जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने बताउनुभएको थियो ।

प्रदेशसभा सदस्य गुरुङले पनि आजै पत्रकार सम्मेलन गरी मुख्यमन्त्री कपका लागि मनाङबाट सहभागी डाँफे युवा क्लबका खेलाडीलगायतको टोलीलाई अभ्यासस्थल र उचित आवासको व्यवस्था नगरेको र आयोजक समितिले एन्फा र फिफाबाट प्राप्त हुने पैसामा अनियमितता गरेको आरोप लगाउनुभयो । एन्फा अध्यक्ष गुरुङले विभिन्न व्यक्ति तथा संस्थालाई विभिन्न प्रतियोगिताको पैसा बुझाउन बाँकी रहे पनि नतिरिकन हिँड्ने गरेको प्रदेशसभा सदस्य गुरुङको भनाइ छ । (रासस)