सम्झनामा तारा देवी


स्वर किन्नरी तारादेवीको १४औं स्मृतिको अवसरमा काठमाडांै महानगरपालिकाको सहकार्य र तारादेवी स्मृति फाउन्डेसनको आयोजनामा ‘सम्झनामा तारादेवी’ नामक कार्यक्रम सम्पन्न भयो।

तारादेवीद्वारा स्वरबद्ध नौ सय खोला तरेर जाने बोलको गीत गुनगुनाउँदै मञ्चमा उक्लिन् संगीता थापा। थापाले फूलको थुंगा बगेर गयो बोलको अन्तरामा पनि स्वर भरिन्।

हिमालकी छोरी हुँ म भन्दै मञ्च तताइन् गीता पाण्डेले अनि अमर माया छाडेर जानेले बोलको गीतमा स्वर भरिन् जिना रसाइलीले । यस्तै प्राश्ना शाक्यले आऊ या न आऊ तिम्रो खुसी बोलको गीत गाइन् । पल पल चुमेरमा धेरै ताली बजाएर दर्शकले मन परदिनु भएको थियो जसलाई गीता पाण्डे र राजीव परियारले प्रस्तुति दिनु भएको थियो । तारादेवीको सम्झनाले कार्यक्रमस्थल तारादेवीमय बनेको थियो। साघुरी बारी गीतको प्रस्तुति आरति गोलेले गर्नु भयो । विष्णु चेम्जोङ र विजयनारायण मानन्धरले हे कान्छा ठट्टैमा बोलको गीतमा युगल स्वर दिए।

कार्यक्रममा तारादेवीको सांगीतिक व्यक्तित्वको चर्चा गर्ने अधिकांशले उनले स्वर दिएका सबै गीतको उचित संरक्षण हुन नसकेकोमा दुःख व्यक्त गरेका थिए। यसका साथै नेपाली सांगीतिक स्वर्णयुगलाई उचाइमा पुर्‍याउन तारादेवीको महत्त्वपूर्ण योगदान रहेको बताएका थिए।

कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्‍याउने तीन अग्रज सष्टालाई जनही २५ हजार १ रुपया, दोसल्ला र प्रमाणपत्रले सम्मानित गरिएको थियो।

कार्यक्रममा फाउन्डेसनका तर्फबाट तारादेवीको सांगीतिक जीवनको पहिलो गुरु उस्ताद भैरवबहादुर थापाको सम्झनामा उनकी धर्मपत्नी धर्मदेवी थापालाई पुरस्कार प्रदान गरियो। यस्तै तारादेवीले सबैभन्दा बढी स्वर किरण खरेलका शब्दमा दिएकी थिइन्। तारादेवीको सम्झनामा खरेललाई पनि सम्मान प्रदान गरियो। तारादेवीको अधिकांश गीतमा संगीत भरेका संगीतकार नातिकाजीलाई मृत्युपर्यान्त सम्मान प्रदान गरियो। नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले उनको सम्मान ग्रहण गरे।