खास
मालिकलाई दासहरुको कमी थिएन । उनको प्रत्येक इशारालाई भुइँमा झर्नु अगावै टपक्क टिपेर सेवा गर्ने एकसेएक दासहरु थिए । मुखसम्म लगेर खाना खुवाउने, पाउको धूलोलाई निधारमा टीका लाउने, जुत्तालाई टोपीले पुछिदिने, खुट्टा धोएर जल पिउन तयार हुने जस्ता कार्य गरेर मालिकको सेवा गरिरहेका हुन्थे । मालिकको खुशी र सुविधाका लागि जेजस्तो पनि सेवा गर्न तयार दासहरु संधैभरि तयारी अवस्थामा थिए ।
तैपनि मालिकलाई किन हो चित्त बुझिरहेको थिएन । ऊ ती मध्ये पनि छुट्टै विशेषता भएको दासको खोजीमा थियो ।
म चौबीसै घण्टा तपाईको भजन गाइरहन सक्छु ।
म तपाईँको विरोध गर्नेको जिब्रो थुत्न सक्छु ।
म भगवान्लाई भन्दा तपाईलाई मान्छु ।
म तपाइँको लागि बाघभालुसँग लड्न सक्छु ।
म तपाईँको …
यसप्रकार आआफ्नो विशेषताको बखान गर्दै एकसेएक दासहरु आए । तैपनि मालिकलाई कुनै पनि दास खास लागेन ।
अन्तमा एउटा दास भने खास लाग्यो ।
म अरुले देख्नेगरी केही पनि गर्दिनँ । बरु उल्टो गर्छु , त्यो खास दासले भन्यो, तर …।
तर..? , उसको कुरा सुनेर मालिक चकित भयो ।
००
त्यो दासको विशेषता थियो बाहिर बाहिर मालिकको घोर विरोध गर्ने तर भित्र भित्र मालिकलाई विरोधीहरुको गोप्य सूचना पु¥याउने ।