कालिन्चोकमा हिउँ खेल्नेको लर्को ( फोटो फिचर )



शव्द/तस्विरः शम्भु गौतम
दोलखा, माघ १२
दोलखा जिल्लाको प्रसिद्ध कालिन्चोक भगवती मन्दिर धार्मिक र प्राकृतिक सौन्दर्यको दृष्टिले मात्रै चर्चामा छैन, अहिले नेपालको मुख्य हिउँ खेल्ने क्षेत्रको रुपमा पनि परिचित भएको छ ।


राजधानी काठमाडौँबाट नजिकै रहेको यो क्षेत्रमा सार्वजनिक विदाको बेला थेगिनसक्नुको भीड लाग्ने गरेको छ । त्यसमा पनि हिउँ परेका बेला कालिन्चोकमा बसाइको समस्या भएर सदरमुकाम चरिकोटमा समेत यात्रुहरुको भरिभराउ हुने गर्दछ ।


कालिन्चोकको आधारबस्ती कुरीमा सुविधासम्पन्न होटलहरु निर्माण गरिएको भए पनि ती अझै पर्याप्त छैनन् । यद्यपि ती होटलहरुको बैधानिकता’bout अझै प्रश्न छ । सार्वजनिक स्थलमा निर्माण गरिएका होटलहरुलाई सरकारले अझै बैधानिक बनाउन सकेको छैन र अझै पनि त्यसरी होटल बन्ने क्रम रोकिएको छैन ।


सदरमुकाम चरिकोटबाट कालिन्चोकसम्मको करिब १७ किलोमिटर बाटो कठिनाइपूर्ण भए पनि त्यहाँ आउने पर्यटकको संख्या दिनानुदिन बढ्दै गएको छ । गत शुक्रवार र शनिवार झण्डै दश हजारका दरले पर्यटकहरु कालिन्चोक क्षेत्रमा भित्रिएको अनुमान दोलखा प्रहरीको पनि छ । दुई किलोमिटरको क्षेत्रमा रोकिएका र जाममा परेका सवारीसाधनहरु व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले थोरै जनशक्तिले विदाको दिन दैनिक १० हजारको दरले आउने पर्यटकलाई मुश्किलले व्यवस्थापन गरिएको बताए । ‘राजधानी बाहिरको पर्यटकीय क्षेत्रमा यति धेरै पर्यटक आउनेमध्ये कालिन्चोक अग्रणी छ ।’ प्रहरी नायव पोखरेलले भने ।


गत शनिवार मात्रै कालिन्चोक क्षेत्रमा पुग्ने पर्यटकको संख्या १२ हजारको हाराहारीमा भएको कुरीस्थित सुनपाती होटल सञ्चालक हरि ओलीले बताए । कालिन्चोक दर्शन गर्न, हिउँ खेल्न आउने र स्की च्यापम्पियनसिपका कारण पनि यति धेरै पर्यटकहरु आएको उनले बताए । अझ अघिल्लो दिन कालिन्चोक आउने पर्यटकहरुको संख्या धेरै भएको र होटलको डाइनिङ टेबलमै सुत्न बाध्य भएको नेपाल स्की तथा स्नोबोर्ड प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले बताए । शनिवार करिब ३ किलोमिटरको क्षेत्रमा सवारी जाम भएपछि पर्यटकहरु हिँड्न बाध्य भएका थिए ।


कुरी क्षेत्रको हिउँमा युवाहरु रमाएको दृश्य निकै आकर्षक थियो ।