स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै दोलखामा भैरब—कुमारी जात्रा (फोटो फिचर )


कोरोना भाइरस महामारीको सन्त्रासबिच ऐतिहासिक तथा पौराणिक नगरी दोलखामा परम्परागत रुपमा देखाइँदैआएको भैरब—कुमारीको जात्रा मनाइंदै । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै परम्परागत जात्रालाई निरन्तरता दिन थालिएको हो ।
गत वर्ष पनि कोरोना कहरकै बिचमा भैरब कुमारीको जात्रा देखाइएको थियो । यो वर्ष पनि कोरोना महामारीको अवस्थामा जात्रा निकाल्न थालेकोले स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई कडाइका साथ पालना गरिने भीमेश्वर नगरपालिका वडा नं २ का अध्यक्ष एवं गुठियार विराज श्रेष्ठले जानकारी दिए । उनले मास्क विना जात्रामा नआउन आग्रह गर्दै कोही मास्क विना जात्रामा आएका उनीहरुलाई मास्क समेत वितरण गरिने बताए ।


परम्परागत बाजागाजाको तालमा भैरब र कुमारीसहितको समुह युद्धको शैलीमा नाच्ने रोचक जात्रा हुने गर्छ । यो जात्रा हरेक वर्ष गाइजात्राको भोलिपल्टबाट सुरु हुने गर्दछ ।


गाईजात्राको भोलिपल्ट अर्थात भाद्र कृष्ण द्वितीयादेखि षष्टीको दिनसम्म रातभर लाग्ने परम्परा छ । तर यो वर्ष रातभर जात्रा नलगाई केही छोटो रुपमा जात्रा सम्पन्न गरिने अध्यक्ष श्रेष्ठले बताए ।

यो जात्राको क्रममा ब्रत बस्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । विभिन्न मनोकाङ्क्षाका साथ दोलखा सहरका ब्रतालु नारीहरुले राती पुजापाठ गरेपछि सुरु हुने नाचमा भैरब र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरुको भीडले जात्रास्थल खचाखच हुने गर्दछ । पा“चसय वर्ष पुरानो मानिने यो जात्रा दोलखा बजारबाहेक देशको अन्य ठाउ“मा नदेखाइने दावी स्थानीय समाजसेवी भरतनारायण प्रधानको छ ।


उनका अनुसार द्वापर युगमा दोलखा बजारको टोलटोलमा कुमारीले दुःख दिन थालेपछि उनीहरुलाई शान्त पार्दै मानवमाथि कल्याण होस् भनेर यो जात्रा प्रारम्भ गरिएको हो । तान्त्रिक विधि गरेर सुरु गरिने जात्रा निकाल्नुपूर्व ब्रत बस्ने महिलाहरु दिनभर निराहार ब्रत बसी टासिचाटोलको गुठीघरमा भेला हुन्छन् । सा“झ परेपछि बुढी आमा, भैरब, कुमारी लगायत सेनामेनाहरु सिँगारेर लहरै बस्छन् । पुजाको विधि सकिएपछि सिँगारिएर बसेका मकुण्डोधारी र अन्यलाई दर्शन गरी दक्षिणा चढाएपछि ब्रतालुहरुले खाना खाने चलन छ ।


भैरब र कुमारी विभिन्न सेनामेनासहित भै युद्धको शैलीमा दोलखाको विभिन्न टोलहरुमा पाँच दिनसम्म परिक्रमा गर्ने प्रचलन छ ।

शव्द/ तस्विरः शम्भु गौतम