साढे दुई किलो चरेससहित तीन पक्राउ

साढे दुई किलो चरेसहित पक्राउ परेकालाई सार्बजनिक गरिदै तुलसीपुर, १४ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ सितलपुरबाट साढे दुई किलो चरेससहित पक्राउ परेका तीन जनालाई सोमबार सार्बजनिक गर्दै दाङ प्रहरी । तस्वीर : दीपक बोहरा (रासस)

तुलसीपुर, १४ माघ : दाङमा साढे दुई किलो चरेससहित तीन जना पक्राउ परेका छन् । प्राप्त सूचनाका आधारमा उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

पक्राउ पर्नेमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका २१ वर्षीय अनिल पुनमगर, रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का २८ वर्षीय भीमबहादुर सार्की र मुसिकोट नगरपालिका–६ का ४० वर्षीय बहादुर बोहरा रहेका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चितुवाको छालासहित दुई पक्राउ

चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । जिप्रका दाङका अनुसार टाउकोदेखि पुच्छरसम्मको चितुवाको छालासहित दङ्गीशरण गाउँपालिका–१ का २४ वर्षीय चेतबहादुर पुन र सोही ठाउँका २४ वर्षीय सौगात घर्तीलाई पक्राउ गरिएको हो ।

चितुवाको छाला बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । उनीहरुले बोकेको झोला खानतलासी गर्दा चितुवाको छाला बरामद गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ । (रासस)