प्रधानमन्त्रीसँग पूर्व माओवादी झस्किए,देउवा र सिटौलालाई गच्छदारले धम्क्याए

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियताले सत्तारुढ दल नेकपाभित्र ठूलै खटपटी ल्याउने संकेत देखिएको छ । बालुवाटारको सांगीतिक साँझमा पूर्व माओवादी नेताहरुको शुन्य उपस्थिति यसैको पूर्व संकेत भएको बुझिएको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको बाँसुरी बादनमा सारंगी रेटेर साथ दिएका झलनाथ खनाल र माधव नेपालका आसपास न पुष्पकमल दाहाल थिए न त अरु कुनै पूर्व माओवादी नेता नै,’ पूर्व माओवादीका एक नेताले सुनाए– ‘अब अख्तियारको फायल चलाएर प्रमुख प्रतिपक्ष मात्र होइन हाम्रै साथीहरु समेत तर्साउने दाउपेचमा लागेका देखिए प्रधानमन्त्री ओली ।’ उनको आशंका छ, प्रधानमन्त्री ओली एक्लै अघि बढ्न चाहीरहेका देखिन्छन् ।

अख्तियारले बालुवाटार जग्गा प्रकरणमा संलग्न भनी विशेष अदालतमा मुद्दा दायर गरेपछि सत्ता पक्ष र प्रमुख प्रतिपक्षवीचको सम्बन्धमा तनाव उत्पन्न भैसकेको छ । नेपाली कांग्रेसले औपचारिक रुपमै आपत्ति जनाईसकेको छ भने भ्रातृ संगठनहरु विरोध प्रदर्शनमा उत्रिसकेका छन् ।

लोकमान पथमा अख्तियार

अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीको तयारीलाई नै आयोगको नयाँ नेतृत्वले कार्यान्वयन गर्ने तारतम्य मिलाएको एक उच्च सूत्रबाट थाहा भएको छ । बालुवाटार जग्गा प्रकरण बाहेक अरु कैयन भ्रष्टाचार सम्बन्धी मुद्दाको अनुसन्धान कार्य पूरा भएर दर्जनौ फायल अदालत लानेगरी तयारी अवस्थामा रहेको सूत्रको दावी छ । कार्कीका पालाका आयुक्त दीप बस्न्यातले सुराकीको शैलीमा सम्बन्धित नेताहरुका घरघरमा गएर सूचना नचुहाएको भए त्यतिबेलै कैयौं नेता भ्रष्टाचारको मुद्दामा परिसकेका हुने थाहा भएको छ । बस्न्यातको सूचना पाएपछि सबै दलका नेताले रातारात कार्की विरुध्द महाअभियोगको प्रस्ताव संसदमा दर्ता गराएपछि त्यो तयारी तुहिएको सूत्रको भनाई छ । कार्की हटेपछि तिनै बस्न्यात अख्तियारको प्रमुख बनेका थिए भने अहिले उनी स्वयं विरुध्द अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

यता सरकारले त्यतिबेलाका फायल अघि बढाउन अख्तियारलाई संकेत गरेको बताईएको छ । ती फायल अघि बढे भने माओवादी क्यान्टोनमेन्टका तत्कालिन इन्चार्ज,तत्कालिन अर्थमन्त्री र अरु कैयन नेताहरुले विशेष अदालतमा तारेख धाउनुपर्ने सम्भावना रहेको बुझिएको छ । यही कुराको सूचना पाएपछि प्रचण्ड सहितका पूर्व माओवादी नेता बालुवाटारको सांगीतिक साँझमा नगएका बताईएको छ ।

प्रधानमन्त्री र गच्छदार वार्ता

अख्तियारले मुद्दा दर्ता गर्नुअघि नै यसको सूचना प्रधानमन्त्री ओलीलाई जानकारी भैसकेको थियो । अख्तियार मुद्दा बोकेर विशेष अदालत जानुअघि कांग्रेस नेता बिजयकुमार गच्छदार र प्रधानमन्त्री ओलीवीच पौने एकघण्टा वार्ता भएको गच्छदार निकट स्रोतले सरल पत्रिकासँग बताएको छ । वार्ताका क्रममा ओलीले ‘बन्दुकबाट गोली छुटिसकेको छ म के गर्न सक्छु र’ भनी गच्छदारलाई जवाफ दिएको समाचार सूत्रको दावी छ ।

देउवा र सिटौलामाथि खनिए गच्छदार


बिहीबार कांग्रेस सभापति देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकमा निलम्बित उपसभापति गच्छदार सभापति देउवा र तेस्रो गुटका नेता कृष्णप्रसाद सिटौलामाथि खनिएका थिए । गच्छदारले आफूलाई किनार लाउन पार्टीभित्रै षड्यन्त्र भएको भन्दै अख्तियारको कार्बाहीबाट सभापति देउवा पनि बच्न नसक्ने भनी चेतावनी दिएका थिए । त्यसैगरी, प्रधानमन्त्री ओली र सिटौलावीचको भूगोल र पारीवारिक सम्बन्ध पनि आफूमाथि मुद्दा लाग्नुको एउटा कारण रहेको भनी गच्छदार क्रुध्द भएका थिए । उनले सिटौलालाई पनि चेतावनी दिएको सूत्रले बताएको छ ।

आरजुको फायल पनि तयारी अवस्थामा

एक उच्च सूत्रका अनुसार, सभापति देउवा पत्नी तथा नेपाली कांग्रेसकी हर्ताकर्ता भनी चिनिएकी आरजु राणा देउवा विरुध्द पनि एउटा अनुसन्धान सकिएको फायल अदालत लानेगरी तयारी अवस्थामा रहेको बुझिएको छ । आरजुले आफ्नो बाबुको नाममा महङ्गा जग्गा किन्ने र एक दुई महिना पछि बाबुले उपहार दिएको झैं देखाउन आफ्नो नाममा नामसारी गर्ने गरेको विषयमा अख्तियारले अनुसन्धान गरिसकेको बताईएको छ । पूर्व प्रमुख आयुक्त  कार्कीकै पालामा अनुसन्धान सकिएको फायल मुद्दा दर्ताको चरणमा रहेको जानकार सूत्रले बताएको छ । 

कांग्रेसको छटपटी

यसैवीच बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दालाई पूर्वाग्रहपूर्ण र राजनैतिक बदनियतपूर्वक भएको भन्दै आपत्ति जनाएको छ । ललितानिवास जग्गा प्रकरणमा अख्तियारले पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई नियतवश उन्मुक्ति दिएर त्यही मन्त्रिमण्डलका सदस्य विजय गच्छदारलाई मुद्दा चलाउने निर्णय सरासर बदनियतले भरिपूर्ण रहेको कांग्रेसको दावी छ ।

  आयोगलाई गलत ढंगले प्रभावित गरी राजनैतिक पूर्वाग्रहका साथ नेता गच्छदारमाथि मुद्दा दायर गरिएको नेपाली कांग्रेसको आरोप छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार यस घटनालाई कांग्रेस नेता र कार्यकर्तामाथि झुठ्ठा मुद्दा लगाउने र हतोत्साहित गर्ने श्रृङ्खलाका रुपमा लिईएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता शर्माले पार्टी पदाधिकारी बैठकको निर्णय जानकारी गराउँदै कांग्रेसका नेता र कार्यकर्तामाथि झुठ्ठा मुद्दा लगाउने र हतोत्साहित गर्ने श्रृङ्खलाका रुपमा कांग्रेसले उक्त घटनालाई लिएको बताए ।

नेता गच्छदार पछाडि परेको थारु समुदायबाट उदाएर पञ्चायतकालीन जेल र प्रवास भोग्दै विसं २०४८ देखि निरन्तर जनताबाट निर्वाचित नेता भएको उल्लेख गर्दै प्रवक्ता शर्माले भने– ‘आयोगलाई अधिकार सम्पन्न बनाउने भ्रष्टाचार निवारण ऐन, विसं २०५९ कांग्रेस नेतृत्वको सरकारले बनाउँदा उहाँ त्यो मन्त्रिमण्डलको सदस्यका रुपमा पनि महत्वपूर्ण भूमिकामा हुनुहुन्थ्यो ।’

आयोगलाई गलत ढङ्गले प्रभावित गरी राजनैतिक पूर्वाग्रहका साथ यही माघ २२ गते उनमाथि मुद्दा दायर गरिएको कांग्रेसको ठहर छ । प्रधानमन्त्रीय प्रणालीमा मन्त्रिपरिषद्बाट भएको कुनै पनि निर्णयको पूर्ण जिम्मेवारी प्रधानमन्त्रीको हुने बताउँदै प्रवक्ता शर्माले प्रधानमन्त्रीको सहमति बेगर मन्त्रिपरिषद्मा कुनै प्रस्ताव नआउने र पारित पनि नहुने बताए । ‘नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिने र कुनै मन्त्रीमाथि त्यही निर्णयमा आधारित रहेर मुद्दा चलाउने कुरा आफैँमा बदनियतपूर्ण रहेको प्रष्ट छ’ उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आफ्ना छोरा नवीन पौडेलका नाममा बालुवाटारको जग्गा लिएको तथ्य सिङ्गो देशलाई जानकारी रहेको बताउँदै प्रवक्ता शर्माले सोही प्रकृतिमा अरुलाई मुद्दा चलाइनु तर पौडेललाई मुद्दा नचलाइनुले राज्य शक्तिको प्रभावमा निर्णय भएको प्रष्ट रहेको टिप्पणी गरे ।

कांग्रेसले बालुवाटार जग्गा प्रकरणको गहिरो छानबिनका लागि माग गर्दै आएको र यो घटनालगायत अन्य सबै अनियमितता, अख्तियार दुरुपयोग र भ्रष्टाचारका प्रकरणको गम्भीर एवं गहिरो अनुसन्धानका पक्षमा रहेको स्पष्ट पारेको छ ।सरल पत्रिका