आइसीसी विश्वकप लिग : कुशल मल्लले बनाए डेब्युमै विश्व कीर्तिमान


काठमाडौँ, २५ माघ : नेपालका कुशल मल्लले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाउनुभएको छ । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका विरुद्धको खेलमा आज उहाँले उक्त कीर्तिमान बनाउनुभएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आउनु भएका बायाँ हाते अलराउण्डर कुशलले ५१ बल खेल्दै ५० रन बनाउनुभएको थियो । यस क्रममा उहाँले तीन छक्का र चार चौकासमेत प्रहार गर्नुभयो । कुशलले १५ वर्ष ३४० दिनको उमेरमा विश्व कीर्तिमान बनाउनुभएको हो । यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो । रोहितले युनाइटेड अरब इमिरेटस् (युएई) विरुद्धको एकदिवसीय सिरिजमा उक्त कीर्तिमान बनाउनुभएको थियो । त्यो बेला उहाँ १६ वर्ष एक सय ४६ दिनको हुनुहुन्थ्यो ।

नेपाल संकटको घडीमा रहेको बेला कुशल ब्याटिङ गर्न आउनु भएको हो । त्यो बेला नेपालले पाँच विकेट गुमाएर मात्र ४९ रन बनाएको थियो । उहाँले विनोद भण्डारीसँग मिलेर नेपालको इनिङ्स सम्हाल्नुभएको थियो । कुशलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्डसमेत तोड्नु भएको छ । यसअघि सचिनले टेस्टमा १६ वर्ष २ सय १३ दिन तथा अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्धशतक प्रहार गर्नुभएको थियो ।