ओली सरकार कम्युनिष्ट शासनतर्फ उन्मुख : कांग्रेस

काठमाडौं, फागुन ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार कम्युनिष्ट सरकारबाट विस्तारै कम्युनिष्ट शासनतर्फ उन्मुख भएको आरोप लगाएको छ। 

आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार कम्युनिष्ट सरकारबाट क्रमश कम्युनिष्ट शासनतर्फ उन्मुख भएको आरोप लगाएका हुन्। शर्माले वर्तमान सरकार जनताकै नाममा जनतामाथि जनविरोधी शासन गर्ने काममा लागेको बताए।

‘जनताको अधिकार जनताबाट निवाचितले नै हनन् गर्दै फेरि पनि जनताकै नाममा जनतामाथि जनविरोधी शासन गर्ने, तर त्यसको शिरमा ‘जनता’ शब्द सजाइरहने,’शर्माले भने,‘यो भयानक प्रवृति आजको कम्युनिष्ट सरकारको मूल प्रवृति भएको छ कम्युनिष्ट सरकारबाट क्रमशः कम्युनिष्ट शासन तर्फ उन्मुख देखिन्छ।’

शर्माले दुई वर्षको अवधिमा संघीयतालाई सबल बनाृनतर्फ नभईं सरकार केन्द्रको कमजोर शाखाका रुपमा प्रदेश सरकारलाई सीमित गर्ने काम गरेको आरोप लगाए। संघीयताको मर्म विपरीत प्रधानमन्त्री कार्यालयमा शक्तिको केन्द्रीकरण गर्नु त्यसकै उदाहरण भएको उनको भनाइ छ।

प्रदेश सरकारहरुलाई अधिकार, बजेट र कर्मचारी प्रबन्धमा सरकारले उदासिनता देखाएको उनको आरोप छ। प्रदेशको नामाकरण र राजधानी चयनको प्रदेशसभामा रहेको अधिकारमाथि नेकपा सचिवालयले ठाडो हस्तक्षेप गर्नुले संघीयतालाई कमजोर बनाउन नियतवश लागेको हो भन्ने पुष्टि गर्ने शर्माको भनाइ छ। – काठमाडौँ प्रेस