पूर्वसभामुख कृष्णबहादुर महराले पाए सफाइ


काठमाडौँ, ५ फागुन : जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सफाइ दिने फैसला गरेको हो ।

संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा उनी थुनामा रहेका थिए। यस अघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

उनी जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका थिए। उच्च अदालतले एक महिनाभित्र फैसला गर्न आदेश दिएको थियो।

त्यसैका आधारमा आइतबार भएको अन्तिम सुनुवाइ भएको थियो। आइतबार बहस सकिएपनि फैसला लेख्न ढिला भएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो। आज अदालतले फैसला सुनाएको हो।

पूर्वसभामुख महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बराल, अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए।

उनीमाथि असोज १२ गते संसद सचिवालयकी कर्मचारीले बलात्कार गरेको आरोप लगाएका थिए। त्यसपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए।

उनले राजीनामा दिएपछि असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो।

सुरुआतमा बलात्कार गरेको आरोपमा पक्राउ परेका भएपनि पछि बलात्कार प्रयासको मुद्दा लगाइएको थियो।

(रासस)