धर्म


          -श्रीबाबु कार्की उदास 

“बा आज मेरो व्रत छ ।” रमाले बाबा गाई दुहुदै गरेको ठाँउमा गएर भनी ।

“ए त्यसो भए आज बाछाको दूध पनि चोर्नुपर्ने भो ?” बाबाले रमातर्फ हेर्दै भने ।- “हजुर हो । भगवानका लागि व्रत बसेकी छु । दूध पिएर निराहार बस्छु ।” रमाले भनी ।


बाबाले सधैंकोभन्दा दूध बढी नै दोए ।रमा  बिहानै नुहाइ धुवाइ गरेर चोखोनितो भइ । भगवानको मन्दिरमा गएर  पुजाअर्चना गरि र दूध मात्रै पिएर व्रत बसी ।


बाछो भोकै भयो । दुधे बाछो दूध कम भएर ड्वा ss ड्वाss कराइनै रह्यो ।


बेलुकी सन्ध्याकालीन पुजा अर्चना रमा सुती । आधा रातमा रमाको कोठा एकाएक भगवान प्रकट हुनुभयो ।       कोठामा रमा एक्लै थिई । रमा झस्किई, ला के यो सत्य हो ? उसले आधारातमा भगवानको यो दीव्य दर्शन भ्रान्ती हो या यथार्थ छुट्याउन सकिन ।बत्तीको मधुरो प्रकाशमा भगवान एकोहोरो ठिङ्ग उभिइरहे । कोठामा सन्नाटा छायो । रमा पनि निकैबेर निशब्द रही ।       

अप्रत्याशित निशब्दता चिर्दै गोठमा गाईको बाछो  लगातार ड्वाss  ड्वा ss करायो ।रमाले भगवानलाई निर्निमेश हेरिरही । निकैबेरको भीषण मौनता चिर्दै भगवानको ओठ सल्बलायो – ” दुधे बाछोको दूध चोरेर पनि कहिँ धर्म हुन्छ ?” भगवान एकाएक अलप भए ।          

रमालाई  सपना हो या जपना एकीन भएन ।त्यो रात न बाछो कराउन छोड्याे न रमाको आँखामा  निन्द्रा आयो।