बामदेवलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिको ‘ग्रिन सिग्नल’, संविधान संशोधन गर्न कार्यदल


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गुप्त उदेश्य अनुरुप संविधान चलाउन लागेको छ । हालै पार्टीको उपाध्यक्ष बनेका गौतमले राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था भएमात्र त्यस सभाको सदस्य हुने अडान लिएका थिए । गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न संविधान संशोधन गर्न लागिएको दावी गरिएपनि यसको अन्तरकथा अर्कै भएको उच्च सूत्रबाट थाहा भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उत्तराधिकारीका रुपमा गौतमलाई अगाडि बढाईरहेका बेला संविधान नै संशोधन गरेर आफ्ना अरु उदेश्य समेत पूरा गर्न लागेको समाचार सूत्रले बताएको छ । संविधान संशोधनको गृहकार्य सुरु भएपछि संविधानप्रति असन्तुष्ट मेधशवादी दलहरु लगायत अन्य स्वार्थ समूहले पनि संविधानमा आफ्ना एजेन्डा समेट्न सक्दो दवाव दिने निश्चित जस्तै छ । यसैपनि मधेशवादी दलहरुले सत्तामा जान र छोड्नेबेलामा पनि संविधान संशोधनको एजेन्डा उठाएर सत्तारुढ दलसँग सौदाबाजी गरिरहेका छन् । 

नेकपाले संविधान संशोधनको गृहकार्य थाल्न एक कार्यदल बनाएको छ । शनिबार बसेको सचिवालय बैठकले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल संयोजक रहेको कार्यदल बनाएको हो । नेपाल २०४७ मा तत्कालिन अन्तरिम सरकारका पालामा पनि संविधान मस्यौदा कार्यदलका सदस्य थिए ।  

 संविधान र कानूनको उपयुक्त व्याख्या गर्न सिपालु पूर्व संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङ र कानून व्यवसायी समेत रहेका नेता खिमलाल देवकोटा कार्यदलका सदस्य छन् । नेम्वाङकै नेतृत्वमा वर्तमान संविधान बनेर जारी समेत भएको थियो ।

संविधान संशोधन गरेर भए पनि नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लाने तयारी गरेको छ ।  सोही तयारी अनुसार शनिबारको सचिवालय बैठकले संविधान संशोधनका लागि गृहकार्य गर्नेगरी कार्यदल बनाएको हो । संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यलाई समेत प्रधानमन्त्री बन्ने बाटो खुलेपछि मात्र सांसद बन्ने अडान गौतमले लिएपछि नेकपाले संविधान संशोधनको तयारी थालेको एक नेताले बताए ।  

  राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफलपछि नेकपाले संविधान संशोधनको गृहकार्य गर्ने निर्णिय लिएको हो ।  नेकपा केन्द्रीय समिति बैठकले गौतमलाई माघ १९ गते उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको थियो ।  

संविधान संशोधन गरेपछि राष्ट्रपतिबाट मनोनित गरेर नेता गौतमलाई राष्ट्रियसभामा लाने तयारी भइरहेको बुझिएको छ । यसअघि गौतमलाई प्रधानमन्त्री ओली स्वयम्ले राष्ट्रियसभामा जान आग्रह गर्दा संविधान संशोधन नभएसम्म नजाने अडान लिएका थिए ।   सरलपत्रिका