नियम विपरीत विद्यालय क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थको बिक्री

नेपालगञ्ज, १६ फागुन : बाँकेका प्रायः सबै विद्यालय क्षेत्र नजिक आसपासका पसलले मदिरा तथा सुर्तीजन्य पदार्थ निर्वाध बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
नियम, निर्देशिका अनुसार विद्यालय क्षेत्रभन्दा करिब १०० मिटरको दूरीमा मात्रै सुर्ती र मदिराजन्य पदार्थ बिक्री वितरण गर्न पाइन्छ तर यो नियम’bout विद्यालय क्षेत्रमा पसल खोलेर बसेका धेरैलाई थाहा नै छैन ।
नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित आधारभूत विद्यालय क्षेत्रमा पसल सञ्चालन गर्दै आएका राजकश्यप आफूलाई यस्तो नियमका ’bout कसैले नभनेको र स्वयम् पनि थाहा नपाएको बताउनुभयो । अझ विडम्बनाको कुरा त के पनि छ भने उहाँ उक्त विद्यालय सञ्चालक समितिका सदस्यसमेत हुनुहुन्छ ।
विद्यालय क्षेत्रमा नियमविपरीत पसल सञ्चालकले सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री गरिरहेको अभिभावकको गुनासो धेरै आएपछि मात्र नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा समितिले विद्यालयभन्दा १०० मिटरको दूरीमा २० वर्षमुनिका विद्यार्थीलाई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न सूचना जारी गरेको छ । तर, यो सूचनामा पनि कसैले टेरपुच्छर लगाएका छैनन् । सूचना जारी गरेको छ महिना समय अवधिमा एकपटक पनि अनुगमन गरिएको छैन । शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले भन्नुभयो,“अनुगमन हामीले गर्ने होइन, यो दायित्व त स्थानीय प्रशासन कार्यालयको हो ।”
बालबालिकाको भविष्यसँग सोझो खेलवाड गर्ने गरी विद्यालय क्षेत्रका पसलले सुर्ती र मदिराजन्य पदार्थ बिक्री गरिरहँदा झारा टार्न सूचना जारी गर्ने, प्रभावकारी अनुगमन नगर्ने र सम्बद्ध निकायबीच समन्वय नहुनेजस्ता कारणले यो नियमको कार्यान्वयमा चुनौती देखिएको छ ।
“निर्णय कार्यान्वयनको प्रयास पनि नभएको होइन, तर विद्यालय क्षेत्रमा ससाना पसल सञ्चालन गर्नेले आफ्नो रोजीरोटी खोसिन लाग्यो भनेर होहल्ला गरेर विषयलाई अन्यत्र मोड्न खोजेपछि चुनौती थपिएको हो”, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले भन्नुभयो । बाँकेमा सामुदायिक २५१ र संस्थागत १७६ गरी कूल ४२७ विद्यालयमा झण्डै डेढ लाख विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ । (रासस)