एसइइ स्थगित, विश्वविद्यालयका सबै परीक्षा पनि स्थगित

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठक कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दै ।तस्वीरः रोशन सापकोटा/रासस


काठमाडौँ, ५ चैत : सरकारले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसइई परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । सरकारले एसइईको सम्पूर्ण तयारी भने गरिसकेको थियो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार एसईई परीक्षाको तालिका परिस्थिति हेरेर मिति तय गरिने छ। ‘कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेको छ। त्यसको मनोवैज्ञानिक असर विद्यार्थीमा पनि पर्ने भएकाले एसईई परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका हौं,’ उनले भने,‘ अब परिस्थिति हेरेर परीक्षाको मिति सार्वजनिक गर्नेछौं।’ 

एसईई परीक्षा चैत ६ देखि १७ चैतसम्मका लागि तोकिएको थियो। यस वर्ष एसईईमा ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुँदै थिए।

सरकारले विश्वविद्यालयका सबै परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ। 

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए।  

विश्वविद्यालयले लिने परीक्षाका विषयमा निर्णय गर्न बिहीबार पदाधिकारीलाई छलफलका लागि बोलाउने तय भएको भएपनि सरकारले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय लिएको मन्त्री पोखरेलले बताए।

विश्वविद्यालयका सबै परीक्षा र एसईई परीक्षा स्थगित गरिएपनि एक महिनापछि हुने राष्ट्रिय परीक्षा बोर्डको कक्षा ११ र १२ को परीक्षाका विषयमा भने कुनै निर्णय नगरिएको मन्त्री पोखरेलले जानकारी दिए।

यसअघि सरकारले बिहीबार (भोलि) देखि सुरु हुन तय भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको थियो। 

(रासस)