लकडाउन: किसानका दुध खेरा जाँदै, उपभोक्ताले खान पाएनन्

चितवन, १३ चैत : कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमको रोकथाम र नियन्त्रण गर्न देशव्यापि ‘लकडाउन’ भएपछि यसको असर दुग्धजन्य क्षेत्रमा परेको छ । किसानको घरमा दुध खेरा जान थालेको छ । अर्काेतर्फ उपभोक्ताले उपभोग गर्न पाएका छैनन् ।

सरकारले दुग्धजन्य पदार्थ ओसारपोसार गर्ने सवारी साधनलाई छुट दिएपनि व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको बताइएको छ । किसानले दुध उत्पादन गरेपनि अधिकांश डेरी र अन्य पसल बन्द हुंँदा वितरणमा समस्या परेको किसानको भनाइ छ । व्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले दुग्ध सङ्कलन केन्द्रले दुध नै नलिदाँ समस्या परेको जानकारी दिनुभयो । “दुधको उत्पादन छ के गर्नु सङ्कलन केन्द्रले दुध नै लिन मान्दैनन ।”उहाँले भन्नुभयो । अध्यक्ष न्यूरेका अनुसार डीडीसीको सङ्कलन केन्द्रले नै दुध नलिएका कारण समस्या भएको हो । साथै चोकर दाना पनि पाउन छाडिएपछि चौपायलाई समेत बचाउन गाह्रो परिरहेको छ ।

काठमाडौबाट दुध बोक्ने ट्यांकर नआएको र स्थानीय दुग्ध उद्योगहरु पनि बन्द भएका कारण थप चिन्तामा रहेको किसानको गुनासो छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङघका सचिव किशोर बगाले दुध सङ्कलन र वितरणलाई कसरी व्यवस्थापन गर्ने भन्ने थप चिन्ताको बिषय रहेको बताउंनुहुँन्छ । “उपभोक्ता नै घरबाहिर निस्कदैनन् । सरकारले यसको सही व्यवस्थापन गर्न सकेको छैन । ” उहाँले भन्नुभयो ।


आफूले बारम्बार काठमाडौका नीजि डेरीलाई दुध लिन आग्रह गरेपनि दुध लिन नआएको उहाँको भनाई छ । दुधको माग भएपनि आफूले डेरी पसल खोल्न नसक्ने अवस्थामा रहेको साना डेरीका सञ्चालकहरु बताउँछन् । मांँ शक्ति डेरीका सञ्चालक लोकनाथ सापकोटा डेरी खोल्यो पसलमा मानिसको भीड हुने हुँदा आँफैलाई डर हुने गरेको बताउनुहुन्छ ।

गंगानगर दुग्ध उत्पादक सहकारी संस्था पनि आजबाट बन्द भएको व्यवस्थापक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “खोलेर मात्र के गर्नु दुध बिक्रीनै हुदैन ।” उक्त सहकारीमा दैनिक ५ हजार लिटर दुध बिक्री हुदै आएको थियो । किसानबाट सङकलन गरे पनि दुध बिक्री नभए पछि सङकलन गर्न छाडिएको हो ।

जिल्लामा दैनिक ३ लाख लिटर दुध उत्पादन हुदै आएको छ । यहांँको उत्पादनको ४५ प्रतिशत खपत भएपनि बांँकी दुध काठमाडौं जाने गरेको छ । यहांँ झण्डै ५०० व्यवसायिक दुग्ध उत्पादक फार्म रहेका छन । भिजन डेरी उद्योग प्रा.लि.भरतपुरका प्रबन्धनिर्देशक सुजन अधिकारी दैनिक चार हजार पाँच सय लिटर दुध बिक्रि हुने गरेकोमा आज दुई सय लिटर मात्र बेच्न सकेको बताउनुहुन्छ । सहकारीबाट ल्याउनेदेखि उपभोक्तासम्म पु¥याउन समस्या नै समस्या भएकाले काम गर्न नसकेको उहाँको भनाई छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा रहेको चितवन मिल्कमा नीजि डेरीहरुले सङकलन गरेको दुध प्रशोधन गरि पाउडर वनाउँदै आएको भए पनि बुधबारबाट उद्योग वन्द भएको छ । उद्योगमा प्रयोग हुने रसायनको अभाब र मजदुर तथा कर्मचारी सहज आवागमन गर्न नपाएपछि उद्योग बन्द भएको जनाईएको छ ।– नारायण अधिकारी(रासस)