कोभिड–१९ : उपकरण अभाव
मिक्लाजुङ, १४ चैत्र : कोभिड – १९ को सम्भावित जोखिम हुन नदिन पाँचथरमा तयार पारिएको निगरानी कक्ष( क्वारेन्टाइन ) तथा आइसोलेशनमा आवश्यक उपरकण सहित औषधिको अभाव देखिएको छ ।
विशेषगरी स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई), मास्क, ग्लोब्स तथा सेनिटाइजरको अभाव देखिएको जनाइएको छ । जिल्ला सदरमुकाम फिदिममा बनाइएको क्वारेन्टाइन, पाँचथर, पाथिभरा र समर्पित अस्पताल तथा फिदिम माविमा बनाइएको क्वारेन्टाइनमा ती सामाग्रीको अभाव भएको समर्पित अस्पतालका व्यवस्थापक शिशिर आङबोले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा गुरागाईले जिल्लामा समेत ती सामाग्रीको अभाव हुन नदिन गृहमन्त्रालय तथा प्रदेश सरकारलाई माग गरी पठाएको र चाँडै आइपुग्ने बताउनुभयो । जनस्वास्थ्य कार्यालय प्रमुख नारद सुवेदीले अहिले प्रदेश सरकारबाट ५ वटा पिपिइ पाँचथर अस्पताललाई प्रदान गरिएको जानकारी दिँदै थप व्यवस्था गर्न सम्बन्धित निकायलाई अनुरोध भएको बताउनुभयो ।(रासस)