कैलालीमा भेटिए चौथो कोरोना संक्रमित
धनगढी, चैत १४ : नेपालमा चाैथो व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ।
शुक्रबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय युवकमा कोरोना भाइरस पोभेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट ती युवकमा कोभिड- १९ को पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
उनका अनुसार कोरोनाको संक्रमण देखिएका ती युवक युएईबाट आएका हुन्। ती युवकमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनका परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राख्न तयारी गरिएको छ।
त्यस्तै, उनीसँग सम्पर्कमा आएका व्यक्तिमा पनि कोरोनाको संक्रमण हुन सक्ने भएकाले सम्पर्कमा आएकाहरुलाई पनि होम क्वारेन्टाइनमा बस्न भनिएको छ। विदेशबाट आएका उनी गत चैत ११ मा प्रादेशिक अस्पताल धनगढीमा उपचारका लागि भर्ना भएका थिए।
नेपालमा कोरोनाबाट संक्रमतिको संख्या चार पुगेको छ। यसअघि चीन, फ्रान्स र कतारबाट आएका व्यक्तिमा कोरोनाको संक्रमण देखिएको थियो। चीनबाट आएका विद्यार्थी भने उपचारपछि घर फर्किसकेका छन् भने अन्य दुई जना आइसोलेसनमा छन्। काठमाडौँ प्रेस