कोरोना कहर : चन्द्रागिरिले विद्यार्थी र मजदुरलाई घर पुर्याइदिने
काठमाडौँ, १८ चैत : चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदुरलाई घर नजिकको राजमार्गसम्म पु¥याउने व्यवस्था मिलाउने भएको छ । विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले चैत २५ गतेसम्म ‘लकडाउन’ गरेपछि अलपत्र विद्यार्थी तथा मजदुरलाई घर जाने व्यवस्था मिलाउन लागेको हो ।
चन्द्रागिरिका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाभित्र कोठामा बसेर दैनिक ज्यालादारी गर्ने मजदुर तथा विद्यार्थीलाई घर नजिकको गन्तव्यस्थल राजमार्गसम्म पु¥याउने निर्णय गरिएको जानकारी दिनुभयो । “लकडाउनको समयमा कोठामा बस्न समस्या भएका विद्यार्थी र मजदुरका लागि घर नजिकको राजमार्गसम्म लैजानका लागि गाडीको व्यवस्था नगरपालिकाले मिलाउँछ”, उहाँले भन्नुभयो । चन्द्रागिरिले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको राजमार्गसम्म पु¥याउने व्यवस्था गर्न लागेको उहाँको भनाइ छ ।
चन्द्रागिरिले घर जान मन गरेका विद्यार्थी तथा मजदुरलाई वडामा नामथर, हाल बसोबास गरेको ठेगाना, कार्यरत रहेको संस्था वा कार्यालयको नाम, बाहिर जान लागेको गन्तव्यस्थलको ठेगाना र सम्पर्क नम्बर टिपाउन अनुरोधसमेत गरेको छ । नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको स्वास्थ्यलाई ध्यानमा राखेर व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ) हस्तान्तरण गरिएको छ । नगर प्रमुख घनश्याम गिरीले कोरोना रोगको सम्भावित सङ्क्रमणबाट जोगिन चन्द्रागिरिभित्र रहेका स्वास्थ्य सङ्घसंस्थालाई पिपीइ हस्तान्तरण गरिएको जानकारी दिनुभयो । “सबै स्वास्थ्यकर्मीलाई पुग्ने गरी पिपीइ नभएकाले शुरुको अवस्थामा सबै स्वास्थ्य संस्थालाई पुग्ने गरी पिपीइ वितरण गरेका छौँ, बाँकी विस्तारै थप्दै जान्छौँ”, उहाँले भन्नुभयो ।
काठमाडौँ प्रवेशको मुख्यद्वारका रूपमा रहेको चन्द्रागिरिले नागढुङ्गा–कलङ्की सडकखण्ड र भित्री सडकखण्डमा किटनाशक औषधिसमेत छरेको छ । नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक र नगरपालिकाका भित्री सडकमा ‘हाइड्रो क्लोराइड’ नामक किटनाशक औषधि छरेको हो ।
कोरोना रोग नियन्त्रणका लागि केही हदसम्म सहयोग पुग्ने उद्देश्यले नागढुङ्गादेखि कलङ्कीसम्म र नगरपालिकाका भित्री सडकमा किटनाशक औषधि छर्किएको नगरपालिकाले जनाएको छ । सरकारले चैत ११ देखि २५ गतेसम्म ‘लकडाउन’ गरेकाले लकडाउनको समयमा नगरवासीलाई घरभित्र बस्न आह्वान गर्दै नगरपालिकाभित्र माइकिङ गरिएको छ । यस्तै नगरपालिकाले विदेशबाट आएका व्यक्तिको लगत सङ्कलनको कार्यलाई समेत अगाडि बढाएको छ ।
यस्तै चन्द्रागिरि वाणिज्य सङ्घ चन्द्रागिरि चेम्बरले प्रत्येक वडामा मास्क वितरण गरेको छ । बजारमा मास्कको अभाव भइरहेका बेला चेम्बरले नगरपालिकामा तीन हजार थान मास्क वितरण गरेको हो । चेम्बर चन्द्रागिरिका अध्यक्ष रामनारायण घिमिरेले विपन्न जनतासम्म मास्क पु¥याउने उद्देश्यले वडाध्यक्षमार्फत मास्क वितरण गरेको जानकारी दिनुभयो । चेम्बरले चन्द्रागिरिमा खाद्यान्न, ग्यास, औषधिलगायतका अत्यावश्यक सामग्री अभाव भए सहजीकरण गर्नेसमेत जनाएको छ ।
चन्द्रागिरिमा हाल १३ स्वास्थ्यचौकी र दुई अस्पताल सञ्चालनमा छन् । नगरपालिकाले सबै स्वास्थ्य संस्थामा ५० थानका दरले मास्कसमेत वितरण गरेको छ । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिकाका रूपमा रहेको चन्द्रागिरिमा १५ वडा छन् । (रासस)