ओम्नी समूहसँगको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द
काठमाडौं, चैत १९ : सरकारले ओम्नी समूहसँगको औषधि तथा मेडिकल उपरकण खरिदको सम्झौता रद्द गरेको छ।
चीनबाट पहिलो चरणमा ल्याइएका स्वास्थ्य उपकरण खरिद गर्दा अनियमितता भएको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला ओम्नी समूहसँग गरिएको खरिद सम्झौता रद्द गरिएको हो।
बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गरिएको जानकारी दिए।
उनले ओम्नी समूहले सरकारले भने अनुसारका स्वास्थ्य सामग्री ल्याउन नसकेकाले सम्झौता रद्द गरिएको बताए। ‘पहिलो चरणमा सरकारले भनेअनुसार सामान ल्याउन सकेन र दोस्रो चरणको सामान कहिले ल्याउने भन्ने स्पष्ट पार्न नसकेकाले सम्झौता रद्द गरिएको हो,’ उनले भने।
उनका अनुसार ओम्नीको पाँच करोड रुपैयाँ धरौटी जफत समेत गरिएको छ। ओम्नी समूहलाई कालोसूचीमा राख्न पनि सिफारिस गरिएको श्रेष्ठले बताए।काठमाण्डौप्रेस