जुम्ली मार्सी धानको बीउ रोपण

खलङ्गा,२० चैत : यहाँका किसानले जुम्ली मार्सीधानको बीउ रोपेका छन् । लकडाउनको प्रभाव जुम्ला सदरमुकाम खलङ्गा बजारमा भए पनि गाउँतिर भने खासै प्रभाव परेको छैन ।

जुम्ली किसानले कृषिपात्रोअनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाए । जुम्ली कालीमार्सी धानको बीउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते ब्याडमा राख्ने परम्परा रहिआएको किसान हरिकला पाण्डेले बताउनुभयो ।

‘विक्रम संवत् ११९८ देखि चन्दननाथ बाबा र लछालकृति पैकलाले कालीमार्सी धानको उत्पादन गरेको दिनको सम्झनामा विसुवा पर्व मनाउने चलन छ । धान खेतीको चक्र चैत महिनाको १२ गतेदेखि शुरु हुने र चैतमा बेर्नाका लागि बीउ राखी जेठअसारमा रोपिने कृषि विकास कार्यालयका सूचना अधिकारी खेमराज शाहीले जानकारी दिनुभयो । ‘जिल्लाभरि एकै दिन छर्किने गरिन्छ,’ उहाँले भन्नुभयो, ‘ढिलो भए ६ महिने धानको चक्र नै बिग्रन्छ । वैज्ञानिक हिसाबले पनि आज(बिहीबारको दिन बीउ बेर्नामा राख्नैपर्छ ।’

जिल्लामा यस वर्ष दुई हजार आठ सय हेक्टरमा धान खेती हुने लक्ष्य रहेको कृषि विकास कार्यालयले जनाएको छ । जुम्लामा वर्षेनी पाँच हजार ६ सय मेट्रिक टन धान उत्पादन हुन्छ । (रासस)