ओम्नीलाई ठेक्का दिने निर्णयमा हस्ताक्षर नगरेका स्वास्थ्य मन्त्रालयका उपसचिवको सरुवा

काठमाडौं, चैत २७ : उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको निर्देशनमा स्वास्थ्य मन्त्रालयका उपसचिव केशवप्रसाद प्रसाईको सरुवा गरिएको छ। 

मन्त्रालयका लेखा शाखामा रहेका प्रसाईले दुई साताअघि ओम्नी समूहलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न दिने निर्णयमा प्रक्रिया नपुगेको भन्दै हस्ताक्षर गरेका थिएनन्।

यसअघि सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेका प्रसाई दुई महिनाअघि मात्रै स्वास्थ्य मन्त्रालयमा सरुवा भएका थिए। उनले ओम्नी समूहलाई विना प्रतिस्पर्धा ठेक्का सम्झौता गर्न नहुने भन्दै आफ्नो फरक मत राख्दै आएका थिए। 

स्रोतका अनुसार ओम्नी समूहलाई ठेक्का दिने मन्त्रालयको निर्णयमा असहमति राखेर सञ्चारमाध्यममा दिएको आशंकामा उनको रातारात सरुवा भएको हो। उनलाई स्वास्थ्य मन्त्रालयबाट कारागार व्यवस्था विभागमा सरुवा गरिएको छ। उनी बुधबारदेखिनै विभागमा हाजिर भएका छन्।

स्रोतका अनुसार मन्त्रालयको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा फरक मत राखेकै आधारमा उनलाई सरुवा गरिएको हो।काठमाडौँ प्रेस