कोरोनाको त्रासले गाउँको मुहार फेरिँदै

गलेश्वर, १ वैशाख : भारतको मुम्बईको पाँचतारे होटलमा काम गर्ने बेनी नगरपालिका–२ बगरफाँटका गणेश घिमिरे गाउँ फर्किएर आफ्नै खेतीपातीमा व्यस्त हुनुहुन्छ । विगत २० वर्षदेखि काठमाडौँको गोङ्गबुमा होटल व्यवसाय सञ्चालन गरेर बस्नुभएका ज्यामरुककोटका दुर्गाबहादुर थापा कोरोनाको त्रासका कारण सपरिवार गाउँ फर्किएर वर्षौंदेखि बाँझिएको खेतबारीमा प्राङ्गारिक मल खरिद गरी धमाधम केरा लगाउन थाल्नुभएको छ । बेनी बजारको एउटा वित्तीय संस्थामा कार्यरत श्याम शर्माले गाउँको माटोमा पैसाको सुगन्ध भेटियो भन्दै तरकारी र पलफूल खेती विस्तार गर्ने ध्याउन्नमा आफूलाई केन्द्रित गर्नुभएको छ ।

घिमिरे, थापा र शर्माजस्तै धेरै व्यक्ति अहिले शहर छोडेर गाउँमा फर्किनुभएको छ । कोरोना सङ्क्रमणको आशङ्कामा शहरमा रहेका गाउँ फर्किएपछि गाउँले नयाँ त्राण पाएको छ । गाउँमा निकै चहलपहल बढेको छ । विभिन्न पेशा व्यवसाय तथा अध्ययनका लागि शहर बसेका फर्किएपछि गाउँको रूप फेरिएको छ । अरू बेला गाउँ आउँदा साथीभाइसँग भेटघाट गरेर गफिने र गाउँघर घुमफिर गर्ने अवस्था भने अहिले छैन ।

हिउँदेखेती थन्काएर कतै मकै लगाउने त कतै गोड्ने याम छ अहिले गाउँमा । मल बोक्ने काम भइरहेको छ । यिनै काममा आफूलाई व्यस्त राख्दै छन् गाउँ फर्केका तन्नेरीहरू । कोरोना भाइरसको महामारीको त्रासले शहर छोडेर गाउँमा फर्किनेको सङ्ख्या पनि निकै छ । पछिल्लो समय वृद्धाश्रमजस्तो देखिने गरेको गाउँमा युवायुवतीको आगमनले खेतबारीको कर्ममा समेत ठूलो सहायता मिलेको छ ।

युवा धमाधम गाउँ फर्किएपछि अहिले गाउँको स्वरूप नै फेरिएको बेनी नगरपालिका–२ बगरफाँटका ८४ वर्षीय वेदप्रसाद शर्माले बताउनुभयो । “पहिला शून्यशून्य देखिने गाउँ अहिले भरिभराउ भएको छ”, शर्माले भन्नुभयो, “आपत्विपत्, सङ्कट र महामारीमा मानिसलाई गाउँ नै प्यारो लाग्दो रहेछ ।” गाउँमा फर्केर आफ्नो १६ रोपनी खेत र बारीमा २०० भन्दा बढी मालभोग जातका केराका बिरुवा लगाउँदै गरेका बगरफाँटका दुर्गा थापाले गाउँमा सुरक्षा र आनन्द दुवै पाइने भएकाले शहरको त्रासलाई भुलाउन आफू गाउँमा आएको बताउनुभयो ।

लकडाउनका कारण शहर बजारमा मानिस घरभित्र नै बसेका भए पनि गाउँमा भने सुरक्षित वातावरणमा धमाधम कृषि कर्म भइरहेको गाउँलेले बताएका छन् । खेतीपातीको काममा शहर र विदेशबाट आएका युवा खटेकाले अहिले गाउँका वृद्धवृद्धा, महिला र केटाकेटीले राहत महसुस गरेका छन् ।

लकडाउनको असर गाउँमा कम छ । गाउँका खेतबारीमा काम भइरहेको छ । कोही घर सिँगार्न व्यस्त छन् त कोही खेतबारीमा मल बोक्न । त्यस्तै कोहीलाई बाली भित्र्याउने चटारो छ । वर्षौंदेखि बाँझो रहेका खेतबारीमा अहिले हरियाली छाएको र उत्पादनमा वृद्धि हुने लक्षण देखिएको स्थानीय कृषकले बताएका छन् ।

शहरको रमझम र सुविधामा अभ्यस्त भएका बालबालिका पनि गाउँको वातावरणमा रमाउँदै जान थालेका छन् । काठमाडौँबाट पहिलोपटक हजुरबुबासँग गाउँ आएका रोशन घिमिरेले मम, चाउमिन, समोसा र बजारमा पाइने अरु खाजाभन्दा गाउँमा खाइने खाजा मीठो भएको बताउनुभयो ।

विश्वव्यापी महामारीको रूप लिएको कोरोनाबाट बच्नका लागि गाउँ फर्किएका युवायुवती र बालबालिका अहिले गाउँको परिवेशमा रमाएका छन् । गाउँको वातावरणमा सुरक्षित र रमाइलो दुवै भएको उनीहरुको भनाइ छ । गाउँका वुद्धवृद्धाले पनि अब गाउँको दिन आउँछ कि भनेर आशा गर्न थालेका छन् ।

मालिका गाउँपालिका–५ देवीस्थानका रेशबहादुर बूढाले भन्नुभयो, “गाउँका पुराना घर सिँगारिएका छन् । मर्मतसम्भार गरेर चिटिक्क पारिएको छ । बाटो र डहरो पनि सरसफाइ गरिएको छ । कोरोनाका कारण मरिने बाँचिने त ठेगान छैन तर गाउँको रूप भने परिवर्तन भएको देख्न पाइयो ।”– धु्रवसागर शर्मा (रासस)