‘अनिकालमा घरभित्रका भाँडाहरु बज्न थालेका छन्’- प्रधानमन्त्री
काठमाडौैं, वैशाख १ : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को भिडियो सन्देश जारी गर्दै पार्टीको आन्तरिक विवादतर्फ कटाक्ष गरेका छन्।
प्रधानमन्त्रीले जारी गरेको नयाँ वर्षको सन्देशमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संकेत गर्दै अनिकालमा घरभित्रका भाँडाहरु बज्न थालेको जिकिर गरेका छन्। ‘भनिन्छ, अनिकालमा घरभित्रका भाँडाहरु बज्न थाल्छन्। तर, त्यसलाई रडाको मच्चिएको ठान्नु भूल हुन्छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्।
प्रधानमन्त्ती ओलीले मन आत्तिएको, भत्किएको बेला ‘गर्नेले गरेन कि’ भन्ने आशङ्का मनमा पैदा हुन सक्ने उल्लेख गर्दै गरेको पुगेन कि भन्ने लाग्न सक्छ तर तर अन्यौल र भ्रममा पर्ने या विचलित हुने होइन, मन बलियो बनाउनु आवश्यक रहेको बताएका छन्।
सोमबार प्रधानमन्त्री ओलीले दिएको भिडियो सन्देशमा कोरोनाविरुद्धको लडाइँ जित्न सबैको एकताबद्ध प्रयास, आत्मविश्वास र मनोवल आवश्यक पर्ने बताएका छन्। ‘कोरोना भाइरसबाट प्रभावित हुने सबै वर्ग र क्षेत्रका नागरिकहरुको अभिभावकत्व सरकारले लिन्छ। सबैभन्दा पहिले जनतालाई महामारीबाट उम्काइने छ। सँगसँगै रोजीरोटीको जोहो गरिने छ।’
नयाँ वर्षको उल्लास मनाउनु पर्ने वेला अफ्ठ्यारो परिस्थितिबाट गुज्रिनु परेको उल्लेख गर्दै यसबाट छिट्टै मुक्त हुने विश्वास जनाएका छन्।
प्रधानमन्त्री ओलीले महामारीको समयको आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन्। कोरोनाको महामारीको अवधिको आफ्नो पारिश्रमिक कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीकाे सन्देशकाे पूर्णपाठ :
दिदीबहिनी तथा दाजुभाइहरु,
कोरोना भाइरसबाट विश्व अर्थतन्त्र र समग्र विश्व प्रणालीमै गहिरो र दुरगामी असर पर्ने कुरा निश्चित छ । यस महामारीले हाम्रो जमानाकै सर्वाधिक विश्व गम्भीर आर्थिक मन्दी निम्त्याउने सहजै अनुमान लगाउन सकिन्छ । प्रक्षेपण गरिएका तथ्यांकहरुलाई उल्लेख नगर्ने हो भने पनि विश्व व्यापार नराम्रो गरी खुम्चिने, करोडौंले रोजगारी गुमाउने र लगानीका स्रोतहरु सुक्ने कुरा निश्चितै जस्तो छ ।
कोरोना भाइरसको यस महामारीबाट सामाजिक र मनोवैज्ञानिक क्षति मात्रै होइन, यसपश्चात आउने विश्वव्यापी आर्थिक मन्दीले हाम्रोजस्तो उदयीमान अर्थतन्त्रलाई गहिरो धक्का दिने निश्चित छ ।
यस महामारीबाट कूल गाह्रस्थ उत्पादनको दुईदेखि चार प्रतिशतको हाराहारीमा हाम्रो अर्थतन्त्रमा क्षति पुग्ने बिभिन्न क्षेत्रका विद्वानहरुको विश्लेषणप्रति सरकारको पर्याप्त ध्यान गएको छ ।
कोरोना पछिको क्षतिको आँकलनका लागि सरकारले आफूसम्बद्ध बिभिन्न निकायहरुलाई परिचालित गरिसकेको छ । आउने हप्तादिन सम्ममा महामारीको बेगको पूर्वानुमान हुनसक्ने भएकाले समग्र मूल्यांकनको प्रक्रिया त्यसपछि मात्र निष्कर्षमा पुग्ने अवस्था छ ।
हाम्रो योजना थियो, यस नयाँ वर्षमा नयाँ वर्षको पहिलो महिनाको पूवाद्र्धमै रानीपोखरी उदघाटनको कार्यक्रम राखिने छ । यस्तो लाग्दै थियो, धरहरा दस तलामा मात्रै होइन त्यसभन्दा माथि अग्लिने छ ।
सुनकोशी मरिन डाइभर्सनको ठेक्का लगाउने काम सकिने छ । सार्वजनिक यातायातमा नयाँ कार्यक्रम घोषणा गरिने छ ।
गत फागुन ३ गते प्रतिनिधिसभामा मैले सम्बोधन गर्दा उल्लेख गरिएका कामको विवरणको प्रगति आजको सम्बोधनमा अपडेट गरिने छ ।
तर हामी महामारीका कारण धेरै कार्यक्रम स्थगित गर्नुपर्ने, केहीको काममा स्वतः विलम्ब हुने, बजेटलाई रकमान्तर गर्नुपर्ने वा हाम्रा प्राथमिकताका क्षेत्रलाई पुनः व्यवस्थित गर्नुपर्ने अवस्थामा आइपुगेका छौं ।
हामी सबैलाई थाहा छ, यतिबेलाको सर्वोच्च र एकमात्र प्राथमिकता नागरिकहरुको स्वास्थ्य सुरक्षा हो । यतिबेलाको सबैभन्दा महत्वपूर्ण विकास निर्माण कार्य भनेको संक्रमण फैलिन नदिने कुराको सुनिश्चितता गर्ने हो । त्यसैले यतिबेला हामीले आफ्नो ध्यान संक्रमितहरुको पहिचान, परीक्षण र उपचारमा गरेका छौं । जतिबेला हामी यस महामारीको ग्राफलाई सीधा पार्छौं, त्यसपछि हाम्रा आर्थिक गतिविधिलाई तीव्रता दिन लगानी, लगानी अनि फेरि लगानीको नीति अपनाउने छौं ।
अहिले हाम्रो अध्ययन तथा सर्वेक्षण टुटेको उत्पादन सम्बन्धको कडी फेरि कसरी जोड्ने, अवरुद्ध उत्पादन प्रणालीलाई कसरी सुचारु गर्ने, भन्नेमा केन्द्रित छ । यसै अध्ययन र सिफारिसको आधारमा सरकारले अर्थतन्त्रको पुनरुत्थानको प्याकेज, नीति तथा कार्यक्रम र बजेटमार्फत् सार्वजनिक गर्ने छ ।
यति धेरै महानुभावहरुले सुझाव र सल्लाह दिइरहनु भएको छ । सल्लाह सरकारको कामको तरिकाको ’boutमा छ र साधन स्रोतको सम्बन्धमा पनि छ । कतिपय मित्रहरुले चालु बजेटको बिभिन्न शीर्षकमा रहेका स्रोतलाई रकमान्तर गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ । कतिपयले उच्च ओहोदामा रहेका र जनप्रतिनिधिहरुले पाउने सुविधामा कटौती गर्नसमेत सुझाव दिनु भएको छ । यी सबै सुझावमा मेरो गम्भीर रुपमा ध्यानाकर्षण भएको छ ।
मैले पटक–पटक भन्दै आएको छु, यो युद्ध सबैको बलियो एकतामा जितिने युद्ध हो । विश्वव्यापी यस संकटको समाधान, विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ । देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरी रहनु पर्दछ ।
मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सहभारवहन हामी सबैले नै मिलेर गर्नुपर्दछ । आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा पनि हो ।
मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।
विद्यमान कठिन परिस्थितिको सामना गर्न मित्र राष्ट्रहरुबाट प्राप्त सदभाव, ऐक्यबद्धता र सहयोगप्रति हामी आभारी छौं । हामीले व्यहोर्नु परेको क्षतिको मुकाबला गर्न, आवश्यक स्रोत जुटाउन, विकास साझेदारहरुबाट प्राप्त साथ र समर्थन प्रशसंनीय रहेको छ ।
यस अवधिमा विश्व बैंकबाट कोरोना संक्रमण रोकथाम आपतकालीन सहयोगका लागि २९ मिलियन अमेरिकी डलर बराबरको सहायता सम्झौता भइसकेको छ ।
यसैगरी बिभिन्न शीर्षकमा विश्व बैंकसहित बिभिन्न साझेदार संस्थाबाट एक हजार पाँच सय ६३ मिलियन अमेरिकी डलर बराबरको रकमको व्यवस्था भइसकेको छ ।
परम्परागत सहायता नीति कार्यक्रम तथा सहायताका उपकरणबाट मात्र अहिलेको संकट समाधान हुन सक्दैन भन्ने स्पष्ट छ । नवीन सहायता नीति, कार्यक्रम र सहायता उपकरणबाट मात्र हाम्राजस्ता जोखिमयुक्त देशले संकटमाथि विजय हासिल गरेर अगाडि बढ्न सक्छन् ।
त्यसैले नियमित रुपमा उपलब्ध भइरहेको भन्दा थप स्रोत साधन अपरिहार्य भएकोले विकास सहायताको प्रकार, विधि, सर्त तथा ऋणको लागत एवम् प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्न सरकारले पहल गर्ने छ ।
भनिन्छ, संकटले सम्भावनाको पनि ढोका खोल्छ । कोरोना भाइरसको महामारीले सिर्जना गरेका चुनौतीहरुलाई हामीले अवसरमा रुपान्तरित गर्न प्रयास गर्नु पर्दछ ।
यस महामारीले स्वास्थ्य पूर्वाधारमा लगानी गर्न सिंगो विश्वलाई र हामीलाई पनि बेस्सरी घचघचाएको छ । सरकारले यसलाई गम्भीर ध्यान दिने नै छ ।
विश्वव्यापी आर्थिक मन्दीका कारण वैदेशिक रोजगारी गुम्न सक्ने, जोखिममा रहेका र मुलुकभित्रै बेरोजगार रहेका युवाहरुलाई केन्द्रित गरेर रोजगारीका कार्यक्रम लागू गर्ने नीति अपनाइने छ ।
कृषि, साना तथा मझौला उद्योगका अतिरिक्त स्वरोजगारीका नयाँ सम्भावनाको खोजी गर्न सम्बन्धित क्षेत्रका व्यावसायी, विशेषज्ञहरु र स्वयं युवाहरुसँग मिलेर ठोस योजना अगाडि सारिने छ ।
दिदीबहिनी तथा दाजुभाइहरु,
कोरोना भाइरसबाट प्रभावित हुने सबै वर्ग र क्षेत्रका नागरिकहरुको अभिभावकत्व सरकारले लिन्छ । सबैभन्दा पहिले जनतालाई महामारीबाट उम्काइने छ । सँगसँगै रोजीरोटीको जोहो गरिने छ ।
सर्वसाधारण जनता र कमजोर वर्गलाई यथासम्भव सामाजिक संरक्षण प्रदान गर्ने, यस समस्याबाट प्रभावित निजी क्षेत्रलाई प्रोत्साहन उपलब्ध गराउने, कृषक तथा आम श्रमिकहरुको आय निरन्तरताका लागि आवश्यक व्यवस्था गरिने छ ।
मैले पहिले नै घोषणा गरिसकेको छु, आफैंलाई जोखिममा राखी उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र नागरिक सुरक्षामा अहोरात्र खट्ने सुरक्षाकर्मीहरु जस्ता यस युद्धको अग्रपंक्तिका व्यक्तिगत र व्यवसायिक सुरक्षामा कुनै कमी हुन दिइने छैन । उहाँहरुको हिफाजत सरकारले हरतरहले गर्ने छ ।
संकटको यस घडीमा जनताको घर आँगनमै पुगेर सेवा पु¥याइरहेका स्थानीय जनप्रतिनिधिहरुप्रति म उच्च सम्मान व्यक्त गर्न चाहान्छु । यसले स्थानीय तहहरुलाई जनताको सबैभन्दा नजिकको सरकारको रुपमा स्थापित गरेको छ ।
आफ्नो प्रदेशको विशिष्ट अवस्था र चुनौतीलाई हेरेर प्रभावकारी ढंगले सम्भाव्य संक्रमणको सामना गरिरहनु भएका प्रदेश सरकारको भूमिकालाई म हार्दिक प्रशंसा गर्न चाहान्छु ।
रोजगारी गुमाएर विहान साँझको छाक टार्न कठिन भएका, अपांगताका कारण औषधिलगायत अन्य अत्यावश्यकीय सुविधाको पहुँचबाट टाढा रहनु भएका, वृद्धावस्थामा रहनु भएका र बिभिन्न हिसाबले असहज अवस्था भोगिरहनु भएका विपन्न र असहाय दाजुभाइ दिदीबहिनीहरुसमक्ष स्थानीय सरकारहरु स्वयं राय लिएर पुग्ने छन् । अप्ठ्यारोमा पर्नु भएका त्यस्ता व्यक्ति परिवार या समुदायको पहिचान गर्न र सरकारले उपलब्ध गराउने राहत वास्तविक मर्कामा परेकाको हातमा पुगोस् भन्ने सुनिश्चित गर्न म सबैको सहयोगका लागि हार्दिक अनुरोध गर्दछु ।
विदेशमा रहनु भएका नेपालीहरुप्रति म संवेदनशील छु । विश्वव्यापी संकटको घडीमा उहाँहरु आधारभूत सुविधा र उपचार सेवाबाट बन्चित हुन नपरोस् भनेर सरकारले बिभिन्न तहमा सम्बन्धित देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विदेशमन्त्रीहरुसँग निरन्तर सम्वाद गरिरहेको छ । नेपालीलाई संरक्षण दिने र आफ्नै नागरिक सरह सुविधा उपलब्ध गराउने वचन दिनु भएकोमा म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।
संकटको यस बेलामा सिंगो राष्ट्र एकताबद्ध छ । सबै राजनीतिक दलहरुबाट प्राप्त साथ, समर्थन तथा उहाँहरुबाट प्राप्त रचनात्मक सुझावले सरकारलाई अझ ऊर्जा थपिदिएको छ । यसका लागि म सबै राजनीतिक दलहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
जनताबाट निर्वाचित सरकार नै संकटको समाधान गर्ने नेतृत्वदायी संस्था हो । तीनै तहका सरकारले सम्बद्ध सबैको सुझावहरुलाई ध्यानमा राख्दै यस असामान्य अवस्थाको प्रभावकारी ढंगले सामना गर्ने कुराको विश्वास दिलाउन चाहन्छु ।
चैत २५ गते मैले भनेको थिएँ– यस खालको महामारीसँग जुध्न समग्र विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा आज प्रत्यक्ष देखिएको छ । मानव स्वास्थ्यमा उच्च लगानी गर्ने नयाँ विश्व प्रणालीको आवश्यकता टड्कारो बनेको छ । यस महामारीको समाप्तीसँगै मानव केन्द्रित नयाँ विश्वप्रणालीको ’boutमा विमर्श पनि थालनी गर्नुपर्दछ । नेपालले यसमा अग्रसरता लिने छ ।
कुनै पनि युद्धमा विजयका लागि आत्मविश्वास, मनोबल र एकता सर्वाधिक महत्वपूर्ण हतियार हो । आत्मविश्वास गुमेको र आत्मबल खस्किएको सेनाले जतिसुकै आधुनिक संशाधनबाट सज्जित भए पनि युद्ध जित्न सक्दैन ।
यस घडी म सबै समक्ष विशेष आह्वान गर्न चाहान्छु, अग्रमोर्चामा रहेर कोरोना भाइरसका विरुद्ध कठिन लडाइँको अगुवाइ गरिरहेकाहरुको मनोबल उच्च पारौं । राष्ट्रिय एकतालाई थप सुदृढ पारौं र कोरोना भाइरसलाई समाजमा फैलिनबाट रोक्न र संक्रमण भइहालेमा पनि पराजित गर्न सकिन्छ भन्ने जनताको आत्मविश्वासलाई थप बलियो बनाउन सकारात्मक भूमिका खेलौं ।
आगामी बैशाख ३ गते लकडाउनको दोस्रो समयावधि पूरा हुन्छ । आगामी दुई दिनमा हुने प्रगतिको आधारमा कोरोना महामारीविरुद्धको हाम्रो नीति कस्तो हुने भन्ने सरकारले निर्णय गर्ने छ । ढुक्क हुनुस् कस्तै प्रतिकूल अवस्थामा पनि आपूर्ति प्रणालीलाई कमजोर हुन दिइने छैन ।
फेरि एकपल्ट यहाँहरु सबैको सुस्वास्थ्यको कामनासहित नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । सबैमा धेरै धेरै धन्यवाद ।