अमेरिकामा पहिलोपटक एकैदिन २ हजार ४०७ जनाको मृत्यु

काठमाडौं, वैशाख ३ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एकै दिन २ हजार ४०७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण अमेरिकामा २४ घण्टामा यति धेरैको ज्यान गएको यो पहिलो पटक हो ।

पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनाको ज्यान जाँदा अमेरिकमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २६ हजार ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा ७६२, स्पेनमा ४९९, इटालीमा ६०२ तथा बेलायतमा ७७८ जनाको ज्यान गएको हो । 

पछिल्लो २४ घण्टामा ७३ हजार ६८३ नयाँ संक्रमित थपिँदा अमेरिकामा मात्रै २६ हजार ९४५ संक्रमितको पहिचान भएको छ । नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण देखिएको छ । जसमध्ये एकजना निको भइसकेका छन् ।

अन्यको सामान्य अवस्थामा उपचार भइरहेको छ । ६ हजार २९९ जनाको परीक्षण गर्दा ९९ जना आइसोलेसनमा रहेका छन् ।