सनसिटीमा कोरोना देखिएपछि र्‍यापिड टेस्ट सुरु


काठमाडौं, वैशाख ३ : दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसिरहेका सबै जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्न थालिएको छ।

सोमबार र्‍यापिड टेस्ट गर्दा गत चैत ५ गते लन्डनबाट आएका तीन जनामा कोरोनाको एन्टीबडी देखिएको थियो। त्यसपछि तीनै जनालाई पाटन अस्पताल भर्ना गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आमा र छोरामा कोरोना देखिएको थियो भने बुहारीमा देखिएको थिएन्। अहिले दुवै जना आमा र छोराको पाटन अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको छ।

सनसिटी अपार्टमेन्टको १५औं तलामा बस्ने आमाछोरामा कोरोना देखिएपछि सोमबार साँझदेखि नै प्रहरीले शिलबन्दी गरेको थियो।

उनीहरुको बुधबारदेखि परीक्षण सुरु गरिएको मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले बताए। उनका अनुसार, आज ब्लक ए का एक सय ४२ जनाको परीक्षण गरिनेछ। संक्रमण देखिएका यहि ब्लकमा बस्दै आएका छन्।

सनसिटी अपार्टमेन्टमा करिब पाँच सय परिवार बस्दै आएका छन्। आज गरिको नतिजा हेरेर थप अन्यको परीक्षण गर्ने वा नगर्ने तय हुने जनाएको छ।काठमाडौँ प्रेस