एकैदिन १४ जनामा कोरोनाको संक्रमण भेटिए संगै संक्रमितको संख्या ३० पुग्यो
काठमाडौं, वैशाख ५ : नेपालमा थप १४ जना कोरोना भाइरसको संक्रमण देखिएको छ।
शुक्रबार उदयपुरमा १२ र चितवनमा दुई जना कोरोनाका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले जानकारी दिए।
शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् ।
शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का ६३ वर्षीया आमा र २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । भरतपुर अस्पतालको आइसोलेसन बार्डमा रहेका उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।
यसअघि १६ जना कोरोनाका संक्रमित भेटिएका थिए। उनीहरूमध्ये टेकु र पाटन अस्पतालमा दुई-दुई जना, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पाँच जना, बागलुङ अस्पतालमा दुई तथा वीरगञ्ज अस्पतालमा चार जनाको उपचार भइरहेको छ भने कोरोनाको पहिलो संक्रमित युवक निको भएर घर फर्किसकेका छन्।