प्रधानमन्त्रीको कोरोना प्रेस्क्रिप्सनका सबै तर्क गलत : विज्ञ

काठमाडौं, वैशाख ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले एक साताअघि प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फेरेन्समा कोरोना भाइरसका विषयमा दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको पाइएको छ। 

कोरोना भाइरस आफैँमा निर्जीव भएको बताउँदै प्रधानमन्त्री ओलीले तातो पानीले हात धुँदा बोसिलो पदार्थ पग्लने र भाइरस खत्तम हुने बताएका थिए।  तर, संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भने भाइरस आफैँमा सजीव प्राणी भएको बताउँछन्। त्यसैले भाइरस सजीव हो कि निर्जीव भन्नेमा बहस आवश्यक नरहेको उनको भनाइ छ।

‘भाइरस आफैँमा प्राणी हो। हो, बाहिरी वातावरणमा धेरै बाँच्न सक्दैन र नयाँ भाइरस पैदा गर्न सक्दैन, यो परजिवी हो,’ उनी भन्छन्, ‘जनावर र विरुवामा रहेको भाइरस हाम्रो शरीरमा प्रवेश गरेपछि हामीलाई असर गर्छ। बाहिर रहेको मानौं पातमा भाइरस छ भने डराउन परेन। तर, शरीरभित्र प्रवेश गरेपछि त डराउनुपर्छ।’

यस्तै, प्रधानमन्त्री ओलीले तातो पानीले हात धोएर भाइरस मार्न सकिने बताएका थिए। तर, ओलीको यो तर्कमा समेत कुनै सत्यता छैन। ‘सावुनपानीले हात धुने हो। तातो पानीले हात धोएर भाइरसबाट बच्न सकिन्छ भनेर अहिलेसम्म कतै पुष्टि भएको छैन,’ सुवेदी भन्छन्, ‘कि हातै पोल्ने उम्लिएको पानीले धुन पर्‍यो होइन भने मनतातो पानीले हात धुँदा भाइरस मर्ने कुराको वैज्ञानिक प्रमाण छैन। सावुनपानीले हात धुनु नै राम्रो विधि हो।’

प्रधानमन्त्री ओलीले भाइरस मुखपछि आँखाबाट चाँडो सर्ने भएकाले मास्कभन्दा चस्मा अनिवार्य रुपमा लगाउनुपर्ने बताएका छन्। तर, अहिलेसम्म नाक, मुख र आँखा कहाँबाट चाँडो भाइरस सर्छ भन्ने अध्ययनले पुष्टि गरेको छैन।  ‘भाइरस आँखा, मुख र नाकबाट सर्छ। तर कहाँबाट चाँडो सर्छ भन्ने एकिन भएको छैन,’ सुवेदी भन्छन्।

यस्तै, भाइरसबाट बच्न आइसक्रिम लगायतका चिसो पदार्थ खान नहुने ओलीको भनाइ थियो। खाने कुरा काँचो खान नहुने तर चिसो खाँदा केही असर नगर्ने सुवेदी बताउँछन्। 

‘उहाँ (प्रधानमन्त्रीज्यू)ले किन र कसरी त्यसो भन्नुभयो थाहा भएन। खाने कुरा काँचो नखाऔं। तर, घरमै बनाएको आइसक्रिम र चिसो पदार्थ खाँदा केही फरक पर्दैन,’ उनी भन्छन्, ‘धेरै चिसो खाने मानिसको मुख र नाकभित्रको छालामा असर गर्छ। त्यसैले रोगप्रतिरोधि क्षमता कम हुन्छ। तर, कहिलेकाहीँ आइसक्रिम खाँदा केही हुँदैन।’

प्रधानममन्त्री जस्तो पदमा बसेका व्यक्तिले पुष्टि नभएका विषयलाई कोरोना रोकथामको टिप्स भन्दै भन्नु सरासर गलत भएको एक अर्का विज्ञले बताए। ‘प्रधानमन्त्रीको कुर्चीमा बसेका व्यक्तिले पुष्टि नभएको कुरा बोल्नु हुँदैन,’ ति विज्ञले भने, ‘उहाँले भने अनुसारै कसैले सावुन नलगाएर मन तातो पानीले हातमात्रै धुन थालेपनि भाइरस संक्रमण हुन्छ। जसले ठूलो समुदायमा संक्रमण गराउन पनि सक्छ।’ – काठमाडौं प्रेस