उदयपुरको एक मस्जिदमा १३ जनाको सम्पर्कमा आएका ८ जनामा पनि कोरोनाको संक्रमण, थप परीक्षण गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयो

गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका ८ जनामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।
कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
गत शुक्रबार मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो। पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो।
संक्रमण देखा परेको भोलिपल्टै सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोसी अस्पताल विराटनगर पठाइएको थियो। तीनैमध्ये ८ जनामा फेरि कोरोना पोजेटिभ देखिएको हो।
यसअघि संक्रमण पुष्टि भएका १३ जना विराटनगरको कोरोना अस्पतालमा उपचाररत छन्।