नयाँ दल दर्ताका लागि जनता समाजवादी पार्टी पुग्यो निर्वाचन आयोग

काठमाडौं, वैशाख ११ : गएराति राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरणपछि बनेको जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा निवेदन दिएको छ।

बुधबार बिहान कार्यालय खुल्ने वितिक्कै जनता समाजवादी पार्टीका नेताहरुले निर्वाचन आयोग कार्यालय पुगेर निवेदन दिएका हुन। उनीहरुले निवेदन दिएसँगै दर्ता दर्ताको प्रक्रिया सुरु भएको छ।

दर्ता दर्ताको निवेदन बोकेर जनता समाजवादी पार्टीका उपेन्द्र यादव, राजेन्द्र महतोलगायत नेताहरू निर्वाचन आयोगको कार्यालय पुगेका हुन्। निवेदन दिइसकेको र दल दर्ताको प्रक्रिया अघि बढेको जनता समाजवादी पार्टीका नेता वीरेन्द्रकुमार ठाकुरले बताए।

सरकारले राजनीतिक दल फुटाउन सजिलो हुने गरि अध्यादेश ल्याएपछि राजपा र समाजवादी पार्टी फुट्ने संघारमा पुगेका थिए। जसले गर्दा दुवै पार्टीले बुधबार मध्यराति एकीकरण गर्ने सहमति गरेका थिए।

समाजवादी पार्टी सांसद रेणु यादवको नेतृत्वमा नयाँ पार्टी दर्ता गराउने तयारी भएपछि जनता समाजवादी पार्टीका नेताहरु बिहानै निर्वाचन आयोग पुगेका हुन्।

बुधबार मध्यराति भएकाे एकताको सहमतिपत्रमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र शरतसिंह भण्डारी तथा  समाजवादीका तर्फबाट संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए।

एकताको सहमतिपत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने र समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा हरियो रंगको बीचमा तारा हुने सहमति जुटेको छ। यस्तै, पार्टीको चुनाव चिह्न छाता रहने टुंगो लागेको थियाे।