८१ वर्षीया आमा कोरोनालाई जितेर छोरासँगै घर फर्किइन्, स्वस्थ भए ९ संक्रमित

काठमाडौं, वैशाख ११ : काठमाडौंको पेप्सीकोटास्थित सनसिटी अर्पाटमेन्टका दुई जना कोरोनालाई जितेर घर फर्किएका छन्।

कोरोना भाइरसको संक्रमण देखिएपछि पाटन अस्पताल भर्ना भएका ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुष निको भएर बिहीबार अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनका अनुसार उनीहरु अस्पतालबाट डिस्चार्जपछि घर फर्किसकेका छन्।  कोरोनालाई जितेर घर फर्किने महिला र पुरुष आमाछोरा हुन्। 

बेलायतबाट फर्किएको झण्डै एक महिनापछि एकै परिवारका तीन जनामा कोरोनाको संक्रमण देखिएपछि उनीहरुलाई गत वैशाख १ गते पाटन अस्पताल भर्ना गरिएको थियो। पीसीआर टेष्टमा कोरोना नेगेटिभ देखिएपछि बुहारी भने यसअघि नै घर फर्किसकेकी थिइन्। 

उनीहरूसँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ९ पुगेको छ। यसअघि सात जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका थिए।