भूकम्पमा जीवितैः अहिले मर्नू न बाँच्नू
भूमिकास्थान नगरपालिका १ साम्नेगाउँ निवासी ३१ वर्षीय ऋषि खनालको नाम सम्झँदा पनि सबैको मुटु काम्छ । काठमाडौँको गंगबुमा रहेको साततले गेष्ट हाउसको पहिलो र दोस्रो तला भूकम्पले भत्किएको थियो तर माथिल्लो चार तला कायमै थियो । विसं २०७२ को गोरखा भूकम्पमा ८२ घण्टापछि भेटिनुभएका खनालको जीवितै उद्धार गरिएको थियो । सशस्त्र प्रहरी, फ्रान्सेली तथा उद्धार टोलीको १० घण्टा लामो प्रयासपछि खनालको उद्धार गरिएको थियो । खनालले आफू बाँच्नका लागि पिसाबसमेत खानुभएको थियो । उहाँले भित्रबाट सानोसानो ढुंगा बाहिर फालेर उद्धार टोलीको ध्यान खिंच्नुभएको थियो ।
ती अचम्मका युवक खनाल अहिले दैनिक जीवन गुजारा कसरी गर्ने र आफ्नो छोरालाई कसरी पढाउने भन्ने चिन्तामा हुनुहुन्छ । विदेश गएर पैसा कमाउने र आफ्नो सुखी परिवार बनाउने सपना बोकेर उहाँ अर्घाखाँचीबाट काठमाडौँ जानुभएको थियो । फर्कँदा देब्रे खुट्टा काटिएका उहाँले भन्नुभयो, “छोरो कसरी पढाउने भन्ने चिन्ता छ ।” गाउँकै अङ्ग्रेजी विद्यालयमा डेढ वर्ष पढाए पनि छोराको शुल्क तिर्न नसकेर सामुदायिक विद्यालयमा पढाउनुपरेको घाइते खनालकी पत्नी कविता बताउनुहुन्छ ।
उहाँले भूकम्पमा परेर अङ्गभङ्ग भएका साथीहरुसँगै मिलेर आफूले पनि कुनै सीप सिकेर जीविकोपार्जन गर्ने चाहना व्यक्त गर्नुभयो । काठमाडौँमा विभिन्न संघसस्थाले निःशुल्क सीपमूलक तालीम दिने बताए पनि आफूले अहिलेसम्म कुनै अवसर नपाएको उहाँले बताउनुभयो । “म बाँचेकोभन्दा पनि पत्नी र छोराको भविष्य सोचेर चिन्तित छु । मेरो जिन्दगी त गयो छोराको भविष्य कसरी निर्माण गर्ने, यही चिन्ता छ, म मर्नु न बाँच्नु पो भएँ त ”, उहाँले गुनासो गर्नुभयो ।- रासस