वीरगञ्जमा थप दुई जनामा कोरोना भएकाे पुष्टि

वीरगञ्ज, वैशाख १४ : वीरगन्जमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। उनीहरुलाई उपचारका लागि आइतबार बिहान नारायणी अञ्चल अस्पतालको आइसोलेसनमा राखिएको छ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर २ र ३ का एक सय ४६ जनामा गरिएको परीक्षणमा दुई जनामा संक्रमण देखिएको हो। यसअघि कोरोना देखिएका छपकैयास्थित मस्जिदमा बसेका भारतीय नागरिकको सम्पर्कमा आएका थप दुई जनामा कोरोना देखिएको जनाएको छ।
कोरोनाको देखिएका वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय र वीरगन्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ। ४९ वर्षीय पुरुष वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेको जनाएको छ। अर्कालाई यस अघि क्वारेन्टाइनमा राखिएको थियो।
वीरगञ्ज महानगरपाकिलाले कोरोना देखिएका भारतीय नागरिकको सम्पर्कमा रहेका वडा नं. १, २ र ३ का १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको थियो।
त्यसमध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ। जसमा दुई जनाका कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको स्थानीय प्रशासनको भनाइ छ ।
यसैबीच स्वास्थ्य मन्त्रालयले पनि उनीहरुमा काेराेना भएकाे जनाएकाे छ। उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ।
यि दुई जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ।
