२० दिनपछि देखापरे किम जोङ उन

काठमाडौं, वैशाख २० : उत्तर कोरियाली शासक किम जोङ उन लगभग २० दिनपछि देखिएका छन् ।

उत्तर कोरियाली सरकारी मिडियामार्फत् यो जानकारी पाइएको हो । पछिल्ला थुप्रै दिनदेखि किम जोङ उन नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अडकलबाजी चलिरहेको थियो । केसीएनए समाचार एजेन्सीको रिपोर्टको अनुसार किम जोङ उनले मल बनाउने एक कारखानाको रिबन काटेर उद्घाटन गरे ।

सरकारी मिडियाका अनुसार जब उनी अगाडि आए, त्यहाँ उपस्थित मानिसहरुले तालीको गडगडाहटले उनको स्वागत गरे । केसीएनए न्यूजका अनुसार किम जोङ उन आफ्नी बहिनी किम यो जो र थुप्रै विशिष्ट अधिकारीसँग थिए ।

लामो समयदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका उनी गम्भीर रुपले बिरामी भएको दाबी गरिँदै थियो । यद्यपि, दक्षिण कोरियाले भने किम जोङ उन गम्भीर रुपमा बिरामी भएको खबर सही नभएको बताएको थियो ।