तेस्रो चरणमा कोरोना संक्रमण, कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं, वैशाख २२ : बाँकेमा एकै दिन १५ जना संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा पुगेको आंकलन गर्न थालिएको छ। अहिलेसम्म कर्णालीबाहेक सबै प्रदेशमा कोरोना संक्रमित भेटिएका छन्।

आइतबार बाँकेमा १५ र पर्सामा एक जना कोरोना संक्रमित भएको पुष्टि भएको थियो। यो संगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ। त्यसमध्ये १६ जना निको भएर घर फर्केका छन भने ५९ जनाको उपचार चलिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सबैभन्दा बढी प्रदेश १ मा ३१ जनामा कोरोना देखिएको छ। उनीहरु सबैको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

त्यसपछि प्रदेश ५ मा १७ जनामा कोरोना देखिएको छ। उनीहरु सबैको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

वैशाख दोस्रो साता भारतबाट आएका एक जनामा कोरोना भएको वैशाख १९ गते पुष्टि भएको थियो। उनको सम्पर्कमा आएका ९० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। उनीहरुमध्ये १५ जनामा संक्रमण देखिएको हो।

उनी विद्यार्थीलाई पढाउने भएकाले बस्तीका अन्य व्यक्तिमा पनि संक्रमण भएको हुनेसक्ने आशंका गरिएको छ। अहिले उनी बस्दै आएको बाँके ७ को डीएसपी टोल, वडा नं. ८ को महेन्द्र पार्क, धम्बोजी चोकलगायतको क्षेत्र सिल गरिएको बाँके जिल्ला प्रशासन कार्यालयले जनाएको छ। त्यो सबै क्षेत्रभित्रका वासिन्दामा कोरोना परीक्षण गरिने भएको छ।

प्रदेश २ मा १३ जनामा कोरोना देखिएको छ। जसमध्ये चार जना निको भएर घर फर्किसकेका छन भने बाँकी नौ जनाको उपचार भइरहेको छ।

त्यस्तै, बागमती प्रदेशमा सात जनामा कोरोना देखिएको छ। त्यसमध्ये ६ जना निको भइसकेका छन भने एक जनाको उपचार भइरहेको छ।

सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये चार जना निको भइसकेका छन भने एक जनाको उपचार भइरहेको छ।

सबैभन्दा कम गण्डकी प्रदेशमा दुई जनामा संक्रमण देखिएको थियो। दुवै जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

कर्णाली प्रदेशमा भने अहिलेसम्म संक्रमण देखिएको छैन।