महामारी विरुद्धको संघर्ष नेतृत्वविहीन : पशुपति शमशेर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले महामारी
विरुद्धको संघर्षमा सरकारले आवश्यक समय र नेतृत्व दिन नसकेको आरोप लगाएका छन् ।
सरकार सत्ताको लेनदेन र भागबण्डामा ब्यस्त रहँदा, पार्टी अध्यक्षको टेबल र रातो कपडा
प्राथमिकतामा परेको, कोरोना प्रकोप र आर्थिक संकटको मुद्दा ओझेलमा परेको राणाले
बुधबार बताए ।

केही दिन अघिसम्म सरकार सत्ताको छिनाझपटीमा ब्यस्त थियो । अब स्थायी समितिको बैठक
छ । अर्थात बालुवाटारमा सघन छलफल जारी छ, बिषय तर कोरोना हैन रातो कपडा, अध्यक्षको
टेबल र सत्ताको भागबण्डा छ,’ उनले भने ।

सत्तारूढ नेकपा भित्रको सत्तासंघर्षका कारण जनता सरकारप्रति विश्वस्त रहन नसकेको भन्दै उनले
भने, महामारी, आर्थिक संकटसँग जुध्न सरकारलाई समय कहिले मिल्ने हो ? जनजिब्रोमा यही प्रश्न झुण्डिएको छ ।’

बन्दाबन्दीको समय ढेड महिना बितिसक्दा पनि सरकारले अत्यावश्यक चाँजोपाँजो मिलाउन
नसकेको राणाको टीप्पणी छ । स्वास्थ्य उपकरण, स्वास्थ्य परीक्षण, क्वारेन्टाइन व्यवस्थामा
अभाव कायम रहेको भन्दै सरकारको स्वास्थ्य रणनीति अन्योलग्रस्त रहेको उनले ट्वीट गर्दै
बताए ।

बन्दाबन्दी ४४ दिन भयो । यसबीच क्वारेन्टाइन सुविधा, स्वास्थ्य उपकरणको उपलब्धता
ब्यवस्थित हुनुपर्ने हो । स्वास्थ्य परीक्षण ब्यापक बन्नुपर्ने हो । विदेशमा रहेका नेपाली
फिर्ता ल्याउन स्पष्ट खाका तय भइसक्नु पर्ने हो,’ राणाले भने । तर महामारी विरुद्धको
हाम्रो संघर्ष नेतृत्वविहीन छ, अभावग्रस्त छ ।’