नेपालमा एकैदिन थपिए ८३ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकामा २ महिला र १ पुरूषस सहित संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं, वैशाख ३१ : नेपालमा एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट पर्सा, महोत्तरी, सर्लाही, धनुषा, भक्तपुर र काठमाडौंका २६ जनासहित थपिएसँगै मंगलबारमात्रै ८३ जना कोरोनाका संक्रमित भेटिएका हुन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका मंगलबार साँझ गरिएको परीक्षणबाट पर्सामा १८, महोत्तरी, धनुषा र भक्तपुरमा दुई–दुई, काठमाडौं र सर्लाहीमा एक–एक गरी थप २६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।  

नयाँ संक्रमित २६ मध्ये १७ जना पुरुष र ९ जना महिला रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए। उनका अनुसार संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेका छन्।  

यसअघि मंगलबार दिउँसो पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना गरी ५७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २१७ पुगेको छ।