कीर्तिपुरमा भोक निवारण द्रुत कार्य समूह

कीर्तिपुर नगरपालिकाले नगरभित्र बसोबास गर्ने व्यक्ति भोकै नपरुन् भनेर खानाको व्यवस्थापन गर्न दु्रत कार्य समूह गठन गरेको छ । लकडाउनका कारण दैनिक ज्याला मजदूरी गर्ने, बाहिर जिल्लाबाट आएका र नगरपालिकाका विपन्न घरपरिवारको समस्यालाई ध्यानमा राख्दै खाद्य पदार्थको व्यवस्थापनका लागि उक्त समूह गठन गरिएको जनाइएको छ ।
नगरपालिकाका उपप्रमुख सरस्वती रिजालका अनुसार अप्ठेरोमा परेका व्यक्तिलाई सम्पर्क गर्दै खाद्य पदार्थ होम डेलिभरी गर्ने गरिएको छ । “हामीले दु्रत कार्य समूह गठन गरेर खाद्य पदार्थको व्यवस्थापन गरेका छौँ, उपभोक्ताले समस्या भयो भनेर फोन गरेपछि आवश्यकताअनुसारको खाद्य पदार्थ लिएर हामी घरमै पुग्छौँ,” प्रवक्ता रिजालले भन्नुभयो, “हामीले पहिलो र दोस्रो चरणको राहत वितरण सकेर होम डेलिभरी गरेका हौँ, दु्रत कार्य समूहबाट खाद्य व्यवस्थापन र डेलिभरी व्यवस्थापन उपसमिति बनाएर खाद्य पदार्थको होम डेलिभरी गर्ने गरिएको छ ।”
समूहका संयोजक रिजालका अनुसार पहिलो चरणमा चार हजार एक सय र दोस्रो चरणमा तीन हजार ५७५ घरपरिवारलाई राहत वितरण सकेर समस्यामा परेका मजदूर तथा न्यून वर्गका उपभोक्तालाई घरघरमै खाद्य पदार्थ पु¥याउँदै आइएको हो ।
रु दुई लाख सहयोग
कीर्तिपुर घर भई अमेरिकामा बसोबास गर्दै आएका नेपालीको समूहले नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा राहत व्यवस्थापन आकस्मिक राहत कोषमा रु दुई लाख सहयोग गरेका छन् । अमेरिकाका विभिन्न शहरमा बसोबास गरेका ३७ जनाले रु दुई लाख ६८ हजार सहयोग गरेका हुन् । ती रकममध्ये रु दुई लाख राहत कोष, रु ५० हजार निःशुल्क खाना खुवाउने युवा र बाँकी सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्रीमा प्रयोग गरिने नगरपालिकाले जनाएको छ । वडानम्बर ४ का वडाअध्यक्ष राजेन्द्र बानियाँमार्फत मंगलबार उक्त रकम हस्तान्तरण गरिएको हो ।
कृषिमा अनुदान
नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सहुलियत रुपमा मल र बीउ वितरणको तयारी गरिएको छ । पचास प्रतिशत अनुदानमा नगरपालिकाले एक हजार ४५० बोरा रासायनिक मल, तीन प्रकारका धानका बीउ र तरकारीका बिरुवा कृषकलाई दिने तयारी गरेको छ ।
प्रवक्ता रिजालका अनुसार नगरपालिका र कृषकले आधाआधा व्यहोर्ने गरी मल र धानको बीउ खरिद गरिएको हो । नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर अनुदानलगायत अन्य सहुलियत ल्याउने गरेको र अनुदानमा तरकारीको विरुवा उपलब्ध गराउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
रु २५ लाख सहयोग
नगरपालिका राहत कोषमा मंगलबारसम्म विभिन्न संघसंस्था तथा व्यक्तिगत रुपमा रु २५ लाख सहयोग भएको छ । नगदसँग खाद्यपदार्थ र स्वास्थ्य सामग्री समेत आउने गरेको विपद् व्यवस्थापन शाखाले जनाएको छ ।
राहत कोषमा नगरपालिकाले दुई चरणमा गरेर रु एक करोड ५० लाख जम्म गरेको छ ।- रासस