सशस्त्र प्रहरीको बीओपी कालापानी क्षेत्रनजिक स्थापना

काठमाडौं, बैशाख ३१ :  दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सीमा निगरानी चौकी (बीओपी) स्थापना भएको छ। 

लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि बुधबार सशस्त्र प्रहरी बलको टोलीलाई खटाइएको हो। उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुमा पुर्‍याएको थियो।

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सकड बनाएपछि सीमा सुरक्षार्थ सरकारले सशस्त्रको टोली पठाएको हो। भारतले नेपाली भूभाग अतिक्रमण गरेर सकड बनाएको भन्दै देशभर चर्को विरोध भइरहेकाबेला सीमा निगरानीका लागि सशस्त्रको बीओपी स्थापना गरिएको छ। बीओपीमा २५ जना सशस्त्र प्रहरीको टोली छन्।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोलीलाई खटाइएको जानकारी दिए। सरकारले यसअघि गत मंसिरमै बीओपी राख्ने निर्णय गरेको थियो। त्यतिमात्रै होइन सीमा क्षेत्रमा बीओपीको संख्या पाँच गुणाले बढाउने पनि सरकारले तयारी गरेको छ। सीमामा यसअघि सशस्त्र प्रहरीका १०७ वीओपी थिए।