चार सुरक्षाकर्मी र नगरपालिकाका दुई कर्मचारीमा कोरोना

कपिलवस्तु, जेठ १ : कपिलवस्तुमा चार जना सुरक्षाकर्मी र दुई जना नगरपालिका कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सुरक्षाकर्मीमा पनि कोरोना देखिएपछि थप सतर्कता अपनाउन थालिएको छ।

बुधबार साँझ नयाँ आठ जनामा संक्रमण पुष्टि भएकामध्ये चार सुरक्षाकर्मी रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरीका दुई तथा राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका एकएक जनामा कोरोना देखिएको हो। उनीहरुमध्ये एक जना प्रहरीका चालक  हुन्।

आठ संक्रमितमध्ये तीन जना नगरपालिका-२ मा निर्मित महेन्द्र माविको क्वारेन्टाइनमा बसेका थिए। तीमध्ये दुई जना नगरपालिकाका कर्मचारी रहेको कृष्णनगर नगरपालिकाका स्वास्थ्य संयोजक अनिलकुमार बिश्वकर्माले जानकारी दिए।

एक जना नगरपाालिकाका सरसफाइकर्मी हुन्। उनी क्वारेन्टाइनमा बस्दै आएका थिए भने अर्को एक जना नगरपालिकाकै कृषि शाखामा कार्यरत रहेको नगर प्रमुख रजतप्रताप शाहले बताए।

उनी यसबीचमा राहत वितरण र भारतबाट आएकाको उद्धारमा सक्रिय रहेको र नगरपालिकामा आउने जाने गरेकाले संक्रमण धेरैमा फैलिइको हुनसक्ने शाहको आशङ्का छ।

यस्तै दुईमध्ये एक जना केही दिनअघि झापाबाट आएका र एक जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति रहेका छन्।

त्यस्तै, कपिलवस्तुको कोरोना संक्रमित स्वास्थ्यकर्मी संक्रमणको नतिजा आउँदासम्म दैनिक कामकाजमा तौलिहवा अस्पतालमा कार्यरत थिइन्। उनले आफ्नै घरबाट आवतजावत गर्ने गरेकी थिइन्। उनलाई उपचारका लागि कपिलवस्तु अस्पतालको आइसोलेसनमा राखिएको छ।

यसैगरि आज बिहान कोरोना संक्रमण पुष्टि भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकालाई उपचारका क्रममा संक्रमण भएको जनाएको छ।

बाणगङ्गा नगरपालिका–४ की बालिकाको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज उपचार भइरहेको थियो। उपचारका क्रममै संक्रमण भएको अनुमान गरिएको छ।

बिहीबार बिहान देखिएका एक जना गरि कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ। (रासस)