आज थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २६७ पुग्यो

काठमाडौं, जेठ २ : नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
संक्रमित पर्साको वीरगञ्ज निवासी ९ र १० वर्षीय बालक, २३ तथा ४७ वर्षीया महिला, उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय युवक, दाङ गढवा वडा नम्बर ४ र ५ तथा तुलसीपुर उपमहानगरपालिका-७ का २३, ३६ र ३४ वर्षीय पुरुष रहेको उनले बताए। यस्तै, काठमाडौं सतुंगल निवासी ७ वर्षीय बालकमा पनि कोरोनाको संक्रमण पुष्टि भएको सहप्रवक्ता अधिकारीले बताए।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै चिकित्सकको सम्पर्कमै रहेको उनले बताए। योसँगै कोरोना संक्रमितको संख्या २६७ पुगेको छ।
